अन्तर्राष्ट्रिय

झाडापखालाका कारण १४ को मृत्यु

एजेन्सी ।झाडापखालाका कारण सोमालियामा १४ जनाको मृत्यु भएको छ । एक जना क्षेत्रीय अधिकारीले बिहीबार दिएको जानकारी अनुसार उनीहरूको एक हप्ताको अन्तरालमा मृत्यु भएको हो ।

फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ । सोमालियाका धेरै सशहरहरू यस प्रकोपबाट प्रभावित भएको हिरशावेल राज्यका स्वास्थ्यमन्त्री अब्दी मुस्लिम महमदले पत्रकारहरूलाई बताए ।

“झाडापखालाको प्रकोप सबैभन्दा पहिले सोमालियाको मध्यभागमा पर्ने हिरान क्षेत्रको बेलेद नगरमा देखिएको हो,” उनले भने ।

स्वास्थ्यमन्त्री महमदका अनुसार त्यसपछि मध्य सावेल क्षेत्रको जोभार नगरमा देखिएको र उनीहरूको मृत्यु भएको हो ।

सोमालियामा ठूलो बाढी आएपछि लगत्तै यो झाडापखालाको प्रकोप देखिएको अधिकारीहरूले बताएका छन् । यहाँका केही गाउँमा झाडापखालाको प्रकोप नै देखिएको छ ।