अन्तर्राष्ट्रिय

हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी

एजेन्सी । माध्यमिक शिक्षा केन्द्रीय समिति (सीबीएसई) को शुक्रबार सञ्चालन भएको परीक्षामा हिंसा प्रभावित उत्तर–पूर्वी नयाँ दिल्लीका प्राय सबै विद्यार्थीले परीक्षामा सम्मिलित भएका छन् ।

सीबीएसईका अनुसार परीक्षामा हिंसा प्रभावित क्षेत्रबाट पनि ९८ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका छन् ।

“उत्तर–पूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन् जसलाई हिंसाग्रस्त क्षेत्रमा पनि उत्साहजनक सहभागिताको रूपमा हेरिएको छ,” सीबीएसईले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

“शुक्रबार भएको राजनीतिशास्त्र कक्षा १२ को परीक्षाका लागि एक लाख ९९ हजार ७६३ परीक्षार्थी रहेका छन् भने दिल्ली र विदेशमा गरी यसका लागि दुई हजार ६९८ केन्द्रको व्यवस्था गरिएको छ,” समितिले जनाएको छ ।

“त्यस्तै शुक्रबार नै भएको सीबीएसईको कक्षा १० को परीक्षा पनि विभिन्न ६० केन्द्रमा परीक्षा शान्तिपूर्णरूपमा सञ्चालन भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

उत्तर–पूर्वी दिल्लीमा नागरिकता कानूनलाई लिएर भएका प्रदर्शन र झडपमा ५३ जनाको मृत्यु भएको थियो भने कम्तीमा २०० जना गम्भीर घाइते भएका थिए ।