जाजरकोट । डोल्पा १ नाम सुन्न बित्तिकै दुर्गम, अभाव र समस्या छ भन्ने सबैको दिमागमा पर्छ । तर ठूलीभेरी नगरपालिका अर्थात सदरमुकाम दुनैको सरस्वती माध्यमिक विद्यालयमा पुग्ने जोकोहीले उक्त भावना र भनाइभन्दा बेग्लै महशुस गर्न सक्छ ।
कक्षा ११ र १२ तथा सिटीइभिटीको तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाइ हुने सो विद्यालयमा अहिले विद्यार्थीको चाप अत्यधिक बढेको प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिएका छन् ।
जिल्लाका अन्य भागका विद्यार्थी मात्र होइन, जाजरकोट, सल्यान, बाँके र सुर्खेतबाट सरस्वती माविमा विद्यार्थी पढ्न आउनेको भिड लाग्ने गरेको छ । आवासीय सुविधा भएको विद्यालयमा एकै कक्षामा १४० भन्दा बढी विद्यार्थी राख्न बाध्य भएको सिंहको भनाइ थियो । उनले भने, “विद्यार्थी भर्ना गर्न धेरै आउँछन्, भर्ना गर्न नेतासम्मको फोन आउने गरेको छ तर हामीसँग विद्यार्थी राख्ने ठाउँ नै छैन कसरी राख्नु ।
” कक्षा ६ देखि १२ सम्म पढाइ हुने विद्यालयमा प्रयोगात्मकदेखि सबै खालका क्रियाकलाप गरेर पढाइ हुन्छ । विद्यार्थी अनुपातमा शिक्षकको सङ्ख्या कम भए पनि सबैले मेहनतसाथ पढाउँदा विद्यालय सबैको नजरमा पर्न सफल भएको प्रअ सिंहको भनाइ छ ।
विसं २०३४ मा स्थापना भएको सो विद्यालयमा २०७५ सालमा सिटीइभिटीको कक्षा सञ्चालन गरिएको थियो । त्यस्तै २०५१ सालमा कक्षा ११ र १२ सञ्चालनमा आएको विद्यालय अहिले विद्यार्थीको चापले गर्दा भर्ना कार्यसमेत बन्द गर्नुपरेको छ । कक्षा ११ र १२ मा चार, ९ र १० मा पाँच, निमावि तहमा चार र सिटीइभिटी तीन जना शिक्षकको भरमा विद्यालय सञ्चालन भएको छ । जिल्लाभित्र भन्दा बाहिरबाट बढी विद्यार्थी पढ्न आउने गरेको पाइएको छ ।
कक्षा ६, ७, ९ र १० मा बढी विद्यार्थीको चाप छ । दुर्गममा पढेको भन्दै नाम कमाउन र राम्रो अङ्क ल्याउनका लागि यो विद्यालय धेरैको रोजाइमा पर्दै आएको छ । शुरुका दिनमा सरस्वती मावि भन्ने बित्तिकै भर्ना भएका विद्यार्थीसमेत झिकेर सुविधा सम्पन्न ठाउँमा अर्थात निजी विद्यालयमा पढाउने चलन थियो ।
अहिले निजी विद्यालयसमेत छाडेर सरस्वती माविमा विद्यार्थी आइरहेका छन् । मुड्केचुला गाउँपालिका इलका जगत रोकाय भन्छन्, “पढाइ राम्रो नहुँदा जिल्ला बाहिर लाने चलन थियो, अहिले निजी विद्यालयभन्दा सरस्वती माविको पढाइ अब्बल छ किन हामीले महँगो शुल्क तिरेर विद्यार्थी बाहिर पढाउने”, उनि थप्छन्, “अन्य विद्यालयले पनि सरस्वती माविकै सिको गरेर शैक्षिक अवस्था सुधार गरे कति राम्रो हुन्थ्यो ।
” दुई शैक्षिक सत्रमा पढाइ हुने डोल्पामा फागुन १ गतेदेखि भर्ना अभियान शुरु हुन्छ । चिसो मौसममा बिदा दिने प्रचलनअनुसार हिउँदे बिदा सकेर फागुन १ देखि भर्ना अभियान शुरु भई १५ गते सकिन्छ । विज्ञान प्रयोगशाला, कृषि विज्ञानका सबै सामग्री विद्यालयमा व्यावहारिक रुपमा सिकाइन्छ ।
आर्थिक अभावमा कारण देशका महँगा शहरमा जान नपाएका विद्यार्थीको अवस्थालाई ध्यान दिएर सिटीइभिटीबाट तीन वर्षे सिभिल इञ्जिनीयरिङसमेत यसै विद्यालयमा पढाइ हुँदै आएको छ ।
विसं २०७५ देखि सिटीइभिटीबाट तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाइ शुरु भएसँगै यस क्षेत्रका विद्यार्थीले समेत पढ्न पाएका छन् । पढाइ राम्रो हुँदाहुँदै पनि आर्थिकरुपमा पछि परेका विद्यार्थी पढ्नबाट वञ्चित भएमा यहाँ समेटिने गरेको प्रअ सिंहले बताउछन् ।