शिक्षा

‘हिन्दु राजनीतिक विचारधारा’ लोकार्पित

काठमाडौं । डा लालमणि पाण्डेयको पुस्तक ‘हिन्दु राजनीतिक विचारधारा’ को लोकार्पण गरिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज गौतम र वाल्मीकि विद्यापीठ राजनीतिशास्त्र शिक्षण विभागका विभागाध्यक्ष पुरुषोत्तम दाहालले पुस्तकको लोकार्पण गरे । पुस्तकमा प्राचीन हिन्दु राजनीतिक विचारधाराका विशेषता, मनु, राजसंस्था, राजधर्म, षड्गुण सिद्धान्त, कौटिल्य, राष्ट्रिय भक्ति, सिद्धि, कूटनीति र दूत–व्यवस्था, गुप्तचर व्यवस्था, युद्ध, न्याय प्रणाली, आर्थिक नीतिलगायत विषय समावेश छन् ।

कार्यक्रममा पूर्वउपकुलपति गौतमले पूर्वीयदर्शनमा पर्याप्त खोज अनुसन्धान नभएको टिप्पणी गर्दै यसका बारेमा पाठ्यक्रम तयार पारी अध्ययनअध्यापन शुरु गर्नुपर्ने बताए। पूर्व विभागाध्यक्ष अमिर पाण्डेले लिखितभन्दा पनि सामाजिक कानूनले मानिसलाई नैतिक बनाउँछ भन्दै पूर्वीय दर्शनले मानवीयताको मनोविज्ञानलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

विभागाध्यक्ष दाहालले नेपालका विद्यालय तथा विश्वविद्यालयमा आफ्नै राजनीतिक विचारका बारेमा अध्ययनअध्यापन नहुनु दुःखद भएको बताउँदै दश हजार वर्ष पुरानो इतिहास रहेको नेपालमा थुप्रै विचार तथा सिद्धान्त प्रतिपादन गर्न सकिने विचार राखे । लेखक पाण्डेयले राजनीतिमा सदाचारिता र नैतिकता अपरिहार्य रहेको बताउँदै हिन्दु राजनीतिक विचारधाराले यसको सार्थकता पुष्टि गर्न मद्दत गर्ने बताए । उनले आलोचनाले सुध्रन मौका प्रदान गर्ने हुँदा शासक आलोचनाबाट डराउन नहुने धारणा राखे ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा डा भोजराज पन्त, संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका शम्भुराज गौतम, वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेशप्रसाद घिमिरे, डा भेषराज अर्याललगायतले अनुवादका माध्यमबाट नेपालको धर्मसंस्कृति, सभ्यता र परम्परालाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।