एजेन्सी । धेरै मानिसहरुले यसअघि नै स्मार्टफोनमा घण्टौँ बिताउनुले टाउको दुखेको अनुभव हुने गुनासो गर्दै आएका छन् जसलाई पहिलोपटक वैज्ञानिकहरुले प्रमाणित गरेका हुन् ।
पछिल्ला केही वर्षहरुमा टाउको दुख्ने समस्या व्यापक बन्दै गएपछि भारतमा वैज्ञानिकहरुको समूहले टाउको दुखाइ र स्मार्टफोनबीचको सम्बन्धबारे लामो समय अध्ययन गरेका हुन् । प्रविधिको प्रयोग र दुखाइबीचको अन्तरसम्बन्धबारे पुष्टि नभए पनि अहिलेका लागि भने केही सीमित तर स्पष्ट प्रमाण फेला पारिएको उनीहरुको रिपोर्टमा जनाइएको छ ।
यसका लागि अध्ययनकर्ताहरुले अन्य रोगका कारण टाउको नदुख्ने किसिमका अवस्था, जस्तै – माइग्रेन, टेन्सनलगायत भएका ४०० जना मानिसमा अध्ययन गरेका हुन् । त्यसपछि उनीहरुले सबै सहभागीहरुको स्मार्टफोन प्रयोग, टाउको दुखाइ सम्बन्धी सुरुदेखिका डाटा र औषधि प्रयोगको जानकारी संकलन गरेका थिए ।
यसबीच स्मार्टफोन कम प्रयोग गर्नेहरुमा टाउको दुखाइ छिटै ठीक हुने गरेको पत्ता लागेको हो भने अर्कोतर्फ धेरै स्मार्टफोन प्रयोग गर्नेहरुको अवस्था चाहिँ खराब हुँदै जाने र धेरै औषधि खानुपर्ने अनि सजिलै निको पनि नहुने गरेको पाएका हुन् ।
यसकारण नै उनीहरुले टाउको दुख्ने समस्या भएकाहरुका लागि फोन विष समान हुन सक्ने बताएका छन् ।
नयाँ दिल्लीस्थित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ की न्युरोलोजी प्रोयफेसर, डाक्टर दिप्ती विभा भन्छिन्, “टाउको दुखाइलाई झन खराब अवस्थामा पुर्याउनमा स्मार्टफोन जिम्मेवार रहेको यस रिसर्चले देखाएको छ । र यसले यो विषयमा भविष्यमा गर्न सकिने आगामी अध्ययन र अन्तरसम्बन्धबारे पनि बाटो खुलाएको छ ।”
बुधबार जर्नल ‘न्युरोलोजी’ मा प्रकाशित यस अध्ययनमा स्मार्टफोनकै कारण टाउको दुख्ने स्पष्ट नभए पनि यसले अवस्थालाई झन खराब बनाउने चाहिँ पुष्टि गरेको छ ।
रिपोर्टको निष्कर्षमा स्मार्टफोनको अधिक प्रयोगले अवश्य पनि स्वास्थ्यमा असर पार्ने गरेको उल्लेख छ । यसरी दैनिक कामकाजका लागि मानिसहरु दिन प्रतिदिन प्रविधि र स्मार्टफोनमा निर्भर भइरहँदा टाउको दुख्ने समस्या व्यापक बन्दै जाने निश्चित रहेको पनि उनीहरुले बताए ।
यसरी रिसर्चमा सहभागी मानिसहरुलाई दुई समूहमा विभाजित गरिएको थियो – पहिलो, केबल फोन गर्न मात्र मोबाइल चलाउनेहरु र दोस्रो चाहिँ स्मार्टफोन प्रयोग गर्नेहरु ।
यसपछि सबैले टाउको दुखाइको लक्षणबारे आफ्नो विगतदेखिको इतिहास र स्मार्टफोन प्रयोगबारे विज्ञहरुको सबै प्रश्नको उत्तर दिएका हुन् ।
उनीहरुको जवाफ तुलना गरेपछि नै स्मार्टफोन प्रयोग नगर्नेहरुको तुलनामा ९६ प्रतिशत प्रयोग गर्नेहरुको टाउको दुखाइ, औषधि नखाइ ठीक नहुने अवस्थामा पुग्ने गरेको पाइएको हो ।
त्यस्तै तुलनात्मक रुपमा स्मार्टफोन प्रयोग गर्नेहरु औषधि खाइसकेपछि पनि पूर्ण रुपमा ठीक नहुने गरेको बताइएको छ । यसैगरी बढी स्मार्टफोन प्रयोग गर्नेहरुमा माइग्रेन सुरु हुनु अगाडि धेरै लक्षण देखा पर्ने गरेको समेत पत्ता लागेको हो ।
यसरी विशेषगरी स्मार्टफोन प्रयोगकर्ताहरुमा टाउको दुखेको सजिलै ठीक नहुने समस्या देखिएको थियो जसबारे वैज्ञानिकहरुले विभिन्न स्पष्टिकरण दिएका छन् । जस्तै फोन स्क्रोल गर्दा मुन्टो तल गर्नुपर्ने हुँदा घाँटी र टाउकोमा दबाब परेर, पोस्चर बिग्रिएर पनि टाउको दुखेको हुन सक्ने भनिएको छ ।
त्यस्तै मुख नजिकै फोन राखेर लामो समय चलाउँदा यसले आँखामा ‘अनुचित फोकसिङ’ को दबाब पर्छ जसले पनि टाउको दुख्ने समस्या उत्पन्न हुने अमेयरिकन माइग्रेन फाउन्डेसनले जनाएको छ ।
यस विषयमा केस वेस्टर्न रिजर्भ युनिभर्सिटी स्कुल अफ मेडिसिनका न्युरोलोजिस्ट शिक्षक डाक्टर हेइडी मोवाद भन्छन्, “यो हाम्रो घाँटी तन्किाइरहनु पर्दा वा फोनबाट लगातार आउने प्रकाशका कारण आँखामा पर्ने दबाब अथवा हरेक क्षण फोन सम्पर्कमा भइरहनुपर्ने तनाव, जुनसकुकै कारणले पनि हुन सक्छ ।”
येल स्कुल अफ मेडिसिन्स डिभिजन अफ जेनेरल न्युरोलोजीका डाक्टर क्रिस्टोफर गट्सचकले पनि अत्याधिक टाउको दुखाइसँग स्मार्टफोन प्रयोग प्रत्यक्ष सम्बन्धित भएको यो रिसर्चपछि स्पष्ट भएकाले यस्तो समस्या हुनेहरु सचेत रहन र सकेसम्म फोनबाट टाढा रहन सुझाव दिएका हुन् । सीएनएनबाट