अन्तर्राष्ट्रिय

सन् २०१९ मा दक्षिण कोरियाको विदेशी लगानीमा वृद्धि

एजेन्सी । दक्षिण कोरियाको समुद्रपारको प्रत्यक्ष लगानी सन् २०१९ मा ६० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि भएको शुक्रबार सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

“दक्षिण कोरियाका घरेलु कम्पनीले सन् २०१९ मा ६१ अर्ब ८५ करोड अमेरिकी डलर लगानी गरेका थिए र यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो,” अर्थव्यवस्था तथा वित्तीय मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ ।

लगानीबारे तथ्याङ्क राख्न सुरू गरेको वर्ष सन् १९८० पछि यो लागानीमा सबैभन्दा बढी वृद्धि हो ।

दक्षिण कोरियाको समुद्रपार भएको प्रत्यक्ष लगानी पछिल्ला वर्षहरूमा तीब्र बढ्ने क्रम रहेको छ । समुद्रपार लगानीमा सन् २०१५ मा पहिलो पटक ३० अर्ब अमेरिकी डलरको उल्लेख्य वृद्धि भएको थियो भने सन् २०१७ मा यो रकम ४० अर्ब डलर र सन् २०१८ मा ५० अर्ब डलर पुगेको थियो ।

तर स्वदेशभित्रको लगानीमा भने कोरियाली कम्पनीको लगानी दरमा न्यूनता देखिएको छ । स्थानीय कम्पनीहरूले आफ्नो पूँजीगत खर्चलाई सन् २०१८ को तुलनामा सन् २०१९ मा ७।६ प्रतिशतले घटाएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो विगत दश वर्षको तुलनामा भारी गिरावट हो ।

समुद्रपारमा वित्तीय तथा बिमा क्षेत्रमा कूल ४०।५ प्रतिशत रहेको छ भने निर्माण उद्योगमा २९।७ प्रतिशत र रियल स्टेटको क्षेत्रमा ११।२ प्रतिशत रहेको छ ।

क्षेत्रगतरूपमा हेर्दा गत वर्ष दक्षिण कोरियाको एशियाली अन्य मुलुकमा ३२।२ प्रतिशत लगानी रहेको थियो । त्यस्तै उत्तर–अमेरिकामा २५।८ प्रतिशत, यूरोपमा २१।९ प्रतिशत र ल्याटिन अमेरिकामा १६।६ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।