काठमाडौं । प्राण घातक (कोभिड १९) कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । विश्वभरी आजसम्म मृत्यु हुनेको संख्या वढेर १३ हजार १७ पुगेको छ ।
कोरोना भाईरसको प्रकोप तिबै गतिमा विभिन्न १ सय ८८ मुलुकमा फैलिएको छ । यस्तै विश्वभर संक्रमितको संख्या ३ लाख ४ हजार ९ सय ९९ पुगेको छ । संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ९४ हजार ७ सय ९८ पुगेको छ ।
उता इटलीमा मृत्यु हुनेको संख्या लगातार तिब्र गतिमा बढेको छ। पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ७ सय ९३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । इटलीमा हिजो ६ हजार ५ सय ५७ नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ ।
स्पेनमा पनि मृत्यु हुनेको संख्या बढेको छ। स्पेनमा हिजो एकै दिन २८५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ । त्यस्तै इरानमा हिजो १ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ५ सय ५६ पुगेको छ भने संक्रमितको संख्या २० हजार ६ सय १० पुगेको छ ।
अमेरिकामा हिजो ६० जनाको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ४ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या २४ हजार नाघेको छ । त्यस्तै हिजो फ्रान्समा ११२, स्वीट्जरल्याण्डमा २४, बेलायतमा ५६, नेदरल्याण्डस्मा ३०, बेल्जियममा ३० तथा दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या लगातार बढेको छ । हिजो एकै दिन ८३ जना संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या ३ सय ३२ पुगेको छ । भारतमा हालसम्म ५ जनाको मृत्यु भएको छ ।