चैत्र १२, नयाँ दिल्ली । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले कोरोना भाइरस सङ्क्रमणबाट सिर्जित आपतकालीन अवस्थामा निर्माण क्षेत्रका श्रमिकलाई राहत मिल्नेगरी विशेष उपायको खोजी गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई मङ्गलबार आग्रह गरेकी छन् ।
कोभिड–१९का कारण निम्तिएको ‘विशेष परिस्थति’लाई ध्यान दिँदै प्रधानमन्त्री मोदीलाई पत्राचार गरेको काँग्रेसले मङ्गलबार बताएको छ ।
पत्रमा उनले कोरोना भाइरसबाट सिर्जित विशेष परिस्थितिमा प्रतिपक्षले सरकारलाई सधैँ साथ दिने बताउँदै सङ्क्रमणका कारण रोजीरोटी नै गुमाएका श्रमिकलाई भोक टार्ने व्यवस्था गर्न आग्रह गर्नुभएको बताइएको छ ।
राष्ट्रिय आयोजनामा काम गर्ने तथा अन्य निर्माण क्षेत्रमा काम गर्ने खासगरी ज्यालाको व्यवस्थापन नहुँदा दुई छाक टार्नका लागि कष्टको सामना गरिरहेका श्रमिकको व्यवस्थापनका लागि राज्यका तर्फबाट विशेष उपायको अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।
उनले भनिन्, “हामी विश्वव्यापी प्रकोपको बिचमा रहेका छौँ । यस अवस्थामा कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्नुपर्ने कठिन परिस्थिति छँदैछ साथै यसबाट हजारौँ श्रमिकले कामलाई निरन्तरता दिन नसक्दा उनीहरूलाई खाना (रोटी) को समस्या परेको छ ।”
पत्रमा भनिएको छ, “क्यानडा लगायतका विश्वका अन्य मललुकले कोभिड–१९का कारण आएको यस कठिन घडिमा श्रमिकलाई ‘ज्यााला अनुदानको उपाय’ अघि सारेका छन् । भारतमा पनि मुख्य शहरहरूमा कार्यरत श्रमिकले आर्थिक सङ्कटसँगै लाखौँ श्रमिक आफ्नो घर फर्किने क्रम जारी छ । हजारौँ शहरहरूमा अलपत्र अवस्थामा रहेका छन् । उनीहरूको व्यवस्थापन गर्नका लागि सरकारले विशेष पहल लिनु जरूरी छ ।”
विश्वकै दोस्रो ठूलो रोजगारदाता भारतमा चार करोड ४० लाख निर्माण क्षेत्रमा काम गर्ने श्रमिक छन् भने सङ्क्रमणपछि ‘लकडाउन’ भएको सन्दर्भमा उनीहरूको दैनिकी कठिन बनेको छ ।
भारतमा ४८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने नौ जनाको सङ्क्रमणका कारण मृत्यु भैसकेको छ ।