अन्तर्राष्ट्रिय

अमेरिकामा चिडियाखानाको बाघमा समेत देखियो कोरोना संक्रमण

एजेन्सी । चीनको उहानबाट फैलिएको प्राणघातक भाईरस कोरोनाको संक्रमण विभिनन पशुपंक्षिमा समेत देखिएको छ । अमेरिकामा एक बाघमा कोरोना संक्रमण देखिएको छ ।

कारोनाले आक्रान्त बनाएको अमेरिकाको एक चिडियाखानामा रहेको बाघमा संक्रमण देखिएको हो । कोरोनाको इपिसेन्टर बनेको अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको ४ वर्षे मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो।

चिडियाखानाका अनुसार आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले त्यस बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो । चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा कोरोना भाइरस सरेको अनुमान गरिएको छ।

‘हामीले अति सावधानीपूर्वक बाघको स्वास्थ्य परीक्षण गरिरहेका छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ जसले कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं ।’