चैत्र २९ काठमाडौं । सरकारले यकैसाथ नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा शुक्रबार राति बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवाको सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसी रहेका छन् ।
२०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरु मध्येबाट डीआईजीमा बढुवा सिफारिस गरिएको हो । सिफारिसमा पर्नेमा ८ जना २०७४ साउनमा एसएसपी भएका र दुई जना २०७५ जेठमा एसएसपी भएका छन् । सरकारले प्राविधिकतर्फ बाहेक १४ जना मात्र डीआईजी कायम गरेको छ ।
१४ डीआईजीमध्ये ७ प्रदेशमा र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विशेष ब्युरो नक्साल, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एक÷एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहने बताईएको छ ।