समाचार

आज मन्त्रीपरिषद बैठक बस्दैः लकडाउ लम्ब्याउने विषयमा छलफल हुने

बैशाख २ काठमाडौं । कोरोना संक्रमणका कारण मुलुकमा जारी लकडाउन लम्ब्याउने लगाएत विषयमा छलफल गर्न मन्त्रीपरिषदको बैठक आज डाकिएको छ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठकले अरू नियमित प्रस्तावमाथि पनि छलफल गर्नेछ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ । मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठदिन थपेर चैत २५ गतेसम्म पुर्‍याएको थियो । चीनको उहानबाट फैलिएको प्राण घातक भाईरस कोरोनाले माहमारीको रुप लिएपछि गत चैत्र ११ गतेदेखी देशपुरै लकडाउनमा छ ।

उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन लम्ब्याउने निर्णय गरेको थियो । अहिले एकमहिना पुर्याउने गरी प्रस्ताव गर्न लागिएको हो ।

सोमबारसम्म कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो नौ दिनसम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन् । आइतबार एकैदिन तीनजना र सोमबार दुईजना नयाँ सङ्क्रमित थपिएका हुन् । आइतबार थपिएका तीनैजना नागरिक भारतीय हुन् ।

यसैबीच काठमाडौंको सनसिटी अपार्टमेन्टमा पनि तीनजनामा कोरोना आशंका गरिएको छ । एकाघरका तीनजना सदस्यको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि निक्र्यौलका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित फेला परेका छन् ।