प्रवास

कोरोनाका कारण अमेरिका र बेलायतमा गरेर एकै दिन दुई नेपालीको मृत्यु

४ बैशाख काठमाडौं । चीनबाट फैलिएको कोरोना भाईरसका कारण बिभिन्न देशहरुमा वस्दै आएका नेपालीहरुले ज्यान गुमाएका छन् । बुधबारमात्रै एकै दिन बेलायत र अमेरिकामा गरी दुई नेपालीको मृत्यु भएको छ । 

बेलायतको लन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक ६० वर्षीय लक्ष्मण श्रेष्ठ र अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

बेलायतको लन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक ६० वर्षीय श्रेष्ठको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ । श्रेष्ठसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ । अहिले कोरोनाका कारण भूपू गोर्खाहरुको एक पछि अर्को मृत्युको खबरले बेलायतबासी नेपालीहरुलाई निकै दुखित बनाएको छ । पुर्ख्यौली घर स्याङ्जाबाट पोखरा सरेका श्रेष्ठ लामो समयदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएका थिए ।

एक पारिवारिक सदस्यका अनुसार ज्वरो आएपछि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई सुन्तला खाँदा सुन्तलाको दाना सर्केपछि एक्कसी श्वास फेर्न गाह्रो भएको थियो । त्यसपछि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो, जहाँ डाक्टरले कोरोना पोजिटिभ भएको जानकारी परिवारलाई दिएका थिए ।

उपचारकै क्रममा बुधबार बिहान लन्डनस्थित गाइज अस्पतालनमा श्रेष्ठको मृत्यु भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले बताए ।

बेलायतमा कोरोना संक्रमणबाट बुधबार एकैदिन ७ सय ६१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म १२ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ९८ हजार भन्दा बढी संक्रमित भएका छन्।

यस्तै अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताईएको छ मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् ।

सन् २०१२ मा अमेरिका पुगेका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । मल्ल नेपालमा प्रहरी सेवामा थिए ।