पु.समाचार

बिदेशमा काम गर्ने चिकित्शकको सल्लाहः नेपालमा लकडाउन लम्ब्याउनुको बिकल्प छैन

 १० वैशाख, टेक्सस्, अमेरिका । नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्छन् । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।

स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा जोड दिन्छन् । सामाजिक दूरी कायम गर्नका लागि लकडाउनले बल पुग्ने बताउने डा आलम नेपालले समयमै लकडाउन गरेकाले तुलनात्मक रुपमा सङ्क्रमण कम देखिएकाले यसतर्फ सबै गम्भीर हुन सुझाव दिन्छन् । तर लकडाउनसँगै जनतालाई अत्यावश्यक सेवा र खाद्यान्नको प्रत्याभूति गर्न र दुई/तीन महिनापछि आउनसक्ने समस्याप्रति पनि आवश्यक मात्रामा सचेत रहेर काम गर्नुपर्ने आवश्यकता देख्छन् ।

लकडाउनलाई व्यवस्थित गर्दै जानुपर्ने र पछि आउनसक्ने खाद्य सङ्कटप्रति पनि चिन्तन जरुरी रहेको उनको भनाइ छ । उनी भन्छन्, “सुपरीवेक्षणको कामलाई पनि प्रभावकारी बनाउनुपर्दछ । लकडाउन भए पनि स्वास्थ्य उपचार सेवालगायतका अत्यावश्यक सेवालाई भने सञ्चालन राख्न आवश्यक छ ।”

नर्वेमा कार्यरत अर्का नेपाली चिकित्सक डा सुरज थापालाई पनि लकडाउनले केही समस्या आए पनि अहिले अर्को विकल्प छैन भन्ने लागेको छ । डा थापा २० वर्षदेखि नर्वेमा छन् । महामारीका रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न अपनाइने लकडाउनको प्रयासलाई गलत नबुझ्न पनि उनी आग्रह गर्छन् । विकासको हिसाबले र पूर्वाधारको व्यवस्थालाई हेर्दा सुसम्पन्न मुलुकहरु अमेरिका, इटली, स्पेन, फ्रान्स, चीनलगायतले पनि अहिले यसको सङ्क्रमण रोक्नुलाई नै चुनौतीका रूपमा लिएका छन् । ओस्लो युनिभर्सिटी अस्पतालमा कार्यरत काठमाडौँका डा थापा भन्छन्, “लकडाउन एक प्रकारले बाध्यताजस्तो नै बनेको छ तर लकडाउनसँगै सरकारले जनतालाई दिनुपर्ने आवश्यक सेवा र खाद्यान्नको प्रत्याभूति भने गर्नुपर्दछ ।”

जापानमा सेन्ट लुक इन्टरनेशनल युनिभर्सिटीमा सामुदायिक स्वास्थ्यमा विद्यावारिधि गरिरहेकी एलिजा केसी अधिकारीलाई कोभिड–१९ एक जनामा पुष्टि हुनेबित्तिकै नेपाल सरकारले लकडाउनको निर्णय गरेर सही गरेको लागेको छ । उनी विश्वका अन्य विकसित मुलुकको तुलनामा नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधारको व्यवस्था न्यून रहेकाले पनि कोभिड–१९ को यो कठिन परिस्थितिमा सामुदायिक स्वास्थ्यको क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको नीतिलाई गलत टिप्पणी गर्न नहुने बताउछन् ।

स्वास्थ्यप्रति जापान सरकार र जनता निकै सचेत छन् । गत तीन वर्षदेखि जापानमा बस्दै आएकी अधिकारी भन्छन्, “मास्क र हातमा पञ्जा नलगाउने व्यक्ति यहाँ भेटिँदैनन्, सबै सामाजिक दूरी बनाएर आफ्ना काम गर्ने गर्छन् । तर यस्ता कार्यहरु नेपालमा हामीले गर्दैनौँ, यो अवस्थामा लकडाउन गर्नु नै नेपालका लागि अनिवार्यजस्तै देखिएको छ ।” उनी अस्पतालमा जाने अवस्था आउन नदिनेतर्फ नै सबैको जोड हुनुपर्ने भन्दै सबैले आफ्नो स्वास्थ्यप्रति संवेदनशील बनेर कोरोनाविरुद्धको लडाइँमा साथ दिनुपर्ने बताउछन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको मेरिल्याण्ड स्टेट युनिभर्सिटीमा कार्यरत डा सुरेश बस्नेत लकडाउनको निरन्तरतासँगै जनजीवनलाई पनि व्यवस्थित गराउनेतर्फ जोड दिन नेपाल सरकारलाई सुझाव दिन्छन् । समयसँगै कोभिड–१९ को महामारीसमेत कम हुने र औषधिसमेत पत्ता लाग्ने तथा विश्व नै यसका विरुद्व लडिरहेकाले यो समयमा रोकथामका लागि नै राज्यको जोड रहनुपर्ने उनको भनाइ छ । डा बस्नेत लकडाउनसँगै परीक्षणको काम पनि तीव्ररूपमा गर्नुपर्ने बताउछन् ।

जतिधेरै परीक्षण हुनसक्छ, त्यतिनै काम गर्न सजिलो हुने डा बस्नेत बताउछन् । उनी भन्छन्, “नियमित बिरामीका साथै अहिलेको यो महामारीबीच कोभिड–१९ का बिरामी बढ्न पुगे स्वास्थ्य सेवामा चुनौती हुनसक्नेतर्फ सचेत हुनुपर्छ । स्वास्थ्य सेवामा दबाब कम गर्न र चिकित्सकलाई दबाब हुन नदिन प्रथम चरणमा नै बढी ध्यान दिनुपर्छ । कोभिड–१९ को सङ्क्रमण देखिए पनि आत्तिइहाल्न नहुने उनी बताउछन् ।

अमेरिकाकै नर्थ क्यारोलिनामा रहेको केप फियर भ्याली अस्पतालमा कार्यरत डा भास्कर कुँवर क्षेत्री पनि लकडाउनलाई अहिलेको अवस्थामा बाध्यात्मक विकल्पकै रूपमा हेर्नुपर्ने बताउछन् । समयमै लकडाउन हुँदा नेपालमा सङ्क्रमण फैलिन नपाएको बताउने रुपन्देहीका डा क्षेत्री रोकथामको प्रयासको रूपमा गरिएको यो लकडाउनसँगै दु्रतगतिमा परीक्षणको काम गर्न सुझाव दिन्छन् ।

चेन अफ कमाण्डमा रहेर यो अवधिमा काम गर्नुपर्ने उनी बताउछन् । अहिले त नेपालमा तीन तहको सरकार छ, सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने भोलिका दिनमा आउन सक्ने अप्ठ्यारा पनि समाधान गर्न सकिन्छ उनी भन्छन् । रोकथामका साथै सङ्क्रमण देखिएकाहरुको स्वास्थ्यप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै उपचार सेवाप्रति तथा लामो समयसम्म लकडाउन भएको खण्डमा मानिसमा यस कारण हुनसक्ने असरप्रति पनि सचेत बन्न आग्रह गर्छन् ।

उता पोल्याण्डमा रहनुभएकी डा अलिनी पोखरेल सुवेदी पनि तत्काल लकडाउन खोल्न नहुने सुझाव दिन्छन् । “अहिले नै खोल्दा अलि हतार हुनसक्छ । यसले जोखिम बढाउनेछ । सङ्क्रमण बढ्न सक्छ”, पोल्याण्डमा कार्यरत डा सुवेदी भन्छन् । अहिले विश्वमा सुरक्षित देशका रूपमा नेपाल पनि पर्छ तर यही बेला हामीले लकडाउन खोल्यौँ भने नेपाल जान चाहनेहरु बढ्न सक्छन्, बिदा मनाउन जाने पनि हुनसक्छन्, यसले नेपालमा चहलपहल बढ्ने हुँदा जोखिम पनि उत्तिकै बढ्न सक्छ भन्छन् ।

पोल्याण्ड पनि लकडाउनलाई चरण–चरणमा खोल्दै जाने सरकारको तयारी रहेको उनले बताए। “शहरभित्र बसहरु चलाइएको छ तर सीमित सङ्ख्यामा मात्र यात्रु राखिन्छ”, डा सुवेदीले भने, “आवश्यकता हेरेर लकडाउनलाई खुकुलो बनाइ दैनिकीलाई सहज बनाउँदै लानुपर्दछ, लकडाउन खोल्नु हुँदैन, सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुपर्दछ ।” उनले अस्पतालहरुमा बहिरङ्ग सेवा बन्द नगर्न पनि सुझाव दिन्छन् । यसो गर्दा भोलि पनि अस्पतालहरुमा बिरामीको चाप बढ्न सक्ने उनको भनाइ छ ।

यसैगरी दक्षिण अफ्रिकामा रहेका डा पुष्पराज भट्टराईलाई पनि लकडाउनले गर्दा नेपालमा सङ्क्रमणको दर कम भएको लागेको छ । दक्षिण अफ्रिकाको एक अस्पतालमा कार्यरत अर्घाखाँचीका डा भट्टराईले अहिले विश्वकै विकसित मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढी देखिएको छ त्यहाँसमेत उपचार सेवामा समस्या देखिएका खबरहरु आइरहेको सन्दर्भमा नेपालले रोकथाममै बढी जोड दिनुपर्ने बताउछन् ।

“सङ्क्रमण हुन नदिन हामीले जोड गर्नुपर्दछ, अस्पतालमा जानु नपर्ने उपायमा नै अहिले हाम्रो बढी ध्यान हुनुपर्दछ”, उनले भने । आफू कार्यरत अस्पतालमा एउटा छुट्टै विभाग बनाएर अहिले परीक्षणको प्रबन्ध मिलाइएको जानकारी गराउँदै एनआरएनए दक्षिण अफ्रिकाका अध्यक्षसमेत रहेका डा भट्टराईले परीक्षण गर्दा पोजेटिभ देखिए उपचारकोे प्रक्रिया अघि बढाइने गरिएको बताए । अस्पतालका अन्य सेवा भने सञ्चालन नै रहेको उनले बताए ।

अमेरिकाको न्यू मेक्सिकोको राज्यमा रहेको लभलेस हेल्थ सिष्टमका मेडिकल डाइरेक्टर डा केशव पौडेल अहिले हामीले गर्ने भनेको नै सामाजिक दूरी बनाउने हो । यसका लागि लकडाउनले नै बल पुग्ने बताए । संसारभर नै अहिले यही अभ्यासमा जोड गरिएको छ । एनआरएनए अमेरिकाका पूर्वअध्यक्षसमेत रहेका डा पौडेलले भने, “लकडाउन गर्दा सङ्क्रमण फैलनबाट रोक्न सकिन्छ । नेपालमा पनि अहिले यसले काम गरेको छ भन्ने मलाई लागेको छ ।” तर उनी लकडाउनसँगै आइपर्ने समस्याप्रति पनि चिन्तित बन्नुपर्ने बताउछन् । सङ्क्रमण हुन नदिनका लागि नै पहिलो प्रयास हुनुपर्ने बताउँदै उहाँ सङ्क्रमण भएको खण्डमा पनि नआत्तिन र यो निको नै नहुने खालको हो भन्ने गरी त्रासमा नरहन अनुरोध गर्छन् ।

आफू कार्यरत अस्पतालको तथ्याङ्क र विभिन्न अन्य आधिकारिक निकायहरुले निकाल्ने गरेको तथ्याङ्कलाई हेर्दा समेत सङ्क्रमण देखिएकामध्ये ८० प्रतिशतभन्दा बढी घरमै आइसोलेसनमा बसेर निको हुने गरेको, उपचार गराउन आउने २० प्रतिशतमध्ये पनि अइसीयूमै राखेर उपचार गर्नुपर्नेको प्रतिशत निकै कम हुने र त्यसमा पनि अति जोखिममा केही व्यक्तिहरु मात्र हुने देखिने गरेकाले कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर मनमा डर नपाल्न उनी आग्रह गर्छन् ।

उता इङ्गल्याण्डमा कार्यरत डा सुनिल साह नेपालमा भइरहेको लकडाउनले सङ्क्रमण रोक्न सहयोग गरेको बताउछन् । “विश्वका विकसित मुलुकहरु हेरेर पनि हामीले धेरै सिक्न सक्छौँ, पूर्वाधारले भरिपूर्ण देशले पनि अहिले जोड दिएको लकडाउनलाई नै हो । नेपालमा यसलाई हेरेर पनि कम्तीमा पनि अप्रिल महिनाभर लकडाउन हुनु जरुरी छ”, उनले भने ।

गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य विभागका प्रमुख डा सञ्जीव सापकोटासमेत अस्पतालमा जति कम बिरामी जाने अवस्था हुन्छ, त्यति नै अस्पतालमा कामको दबाब कम पर्ने भएकाले सबैको ध्यान कोरोना सङ्क्रमण हुन नदिनमा नै हुनुपर्ने बताउछन् ।

विभिन्न देशमा कार्यरत नेपाली चिकित्सकहरुले नेपाल–भारत सीमासमेत खुला रहेकाले अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गराउनुका साथै खुला सिमानाबाट हुनसक्ने आवातजावतमा समेत ध्यान दिन आग्रह गर्छन् । लकडाउनका बीच पनि जनताको दैनिकीलाई ख्याल गर्न आग्रह गर्दै चिकित्सकहरुले अस्पताल बन्द नगर्न तथा त्यहाँबाट दिइने बहिरङ्ग सेवा पनि सञ्चालनमा राख्न अनुरोध गर्छन् । जोखिमको यस घडीमा निजी अस्पतालहरुलाई सरकारले उपयोग गर्नुपर्ने र ती अस्पतालको समेत दायित्व भएकाले त्यसप्रति गम्भीर बन्न सम्बन्धित सबैमा उनीहरुको आग्रह छ ।