साहित्य

आमा तिमीलाई भेट्न पाए…………….

-डा चन्दा कार्की                                                                  -कविता

फेरि तिमीलाई भेट्न पाए
यो मनको इच्छा पूरा गर्थें ।
हृदय भरी राखेको माया मेरो,
शायद तिमीलाई देखाउन सक्थें।

फेरि तिमी लाई देख्न पाए,
अङ्गालोमा तिमीलाई कस्ने थियें।
मेरो जीवनको अर्थ नै तिमी हौ,
कानमा सुटुक्क तिम्रो भन्ने थिए ।

फेरि तिम्रो सामु पर्न पाए,
गालामा गाला टाँस्ने थिएँ।
मार्गदर्शक तिमी मेरो हुनाले,
म आज यहाँ छु भन्ने थिएँ ।

फेरि तिमीसङ्ग बोल्न पाए,
बिरगाथाहरु तिम्रा सुनाउने थिएँ।
तारिफ तिम्रो पेट भरी गरेर,
गालामा म्वाई खाने थिएँ ।

फेरि तिम्रो दर्शन पाए,
कृतज्ञता सायद चढाउने थिएँ।
बयान गरि तिम्रा त्याग तपस्या,
तिम्रो पाउमा ढोग्ने थिएँ ।

फेरि तिमिलाई छुन पाए,
बलियो गरि तिम्रो हात समात्ने थिएँ।
नजाउ आमा मलाई छोडेर भनेर,
अनुनय बिनय गर्ने थिएँ।

(काठमाडौं मेडिकल कलेजकी प्रमुख कार्यकारी अधिकृत तथा स्त्री रोग विशेषज्ञ डा कार्कीले स्वर्गीय आमाको सम्झाना गर्दै उक्त कतिवा लेखेकी हुन्) ।