११ बैशाख प्युठान । लकडाउनका कारण प्युठानका मौरीपालन किसानलाई मह काढ्न समस्या भएको छ । मौरीले मह उत्पादन गर्ने तथा काढ्ने उपयुक्त समय भए पनि चरन क्षेत्रसम्म पुग्न नपाउँदा मह काढ्न समस्या भएको हो ।
मह काढ्न नपाउँदा मौरी घार फुटाएर भाग्न थालेको प्युठान नगरपालिका–७ टिकुरीका मौरीपालक कृषक मधुसूदन भण्डारीले बताएका छन् । यसअघि मौरी चरनका लागि कपिलवस्तु लैजाने गरिए पनि बन्दाबन्दीले चरनमा लैजान नसकिएको उनले बताए ।
उनका अनुसार टिकुरीका कृषकको मौरी कपिलवस्तु, लुम्बिनी, बाँकेलगायत जिल्लामा चरनका लागि लगिएको छ । आफू एकातिर मौरी अर्कातिर हुँदा मौरीको हेरचाह गर्न नपाएको प्युठान–७ का अर्का कृषक डिमराज पोख्रेलले बताए ।
मौरी हेरचाहका लागि पास लिएर गए पनि लकडाउनका कारण बस्ने होटल नपाउने समस्या भएकाले जान नसकेको उहाँको भनाइ छ । मौरी जिल्ला बाहिर हुने र कृषक प्युठानमा हुँदा मौरीका गोला चोरी हुने डर बढेको नेपाल मौरीपालन महासंघ प्यूठान शाखाका अध्यक्ष विष्णु सारूले बताए ।
एक दिनको मात्र पास हुँदा मह काढ्न तथा गोला सार्न नपाइएको उनी गुनासो गर्दछन् । सरकारले आवश्यकता हेरेर दुईचार दिनको पासको व्यवस्था गरेमा सहज हुने उनको भनाइ छ ।
यस समयमा जंगलमा फूल फुल्ने हुँदा मौरी घारबाट जंगलतिर भागेको उनले बताए । उनका अनुसार प्युठान जिल्लामा सेरेना र मेलीफेरा जातका मौरी पालन गरिँदै आएको छ । जिल्लामा वार्षिक ३०–३५ टन मह उत्पादन हुने गरेको अध्यक्ष सारुले जानकारी दिएका छन् ।