साहित्य

‘आमा’

-रवीन्द्र मिश्र                                                       – कविता

आमा
तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा
म आज सुर्य खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस्

आमा
तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा
म आज उर्जा खोजिरहेछु
ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस्

दिनभरी बारीमा मकै रोपेर
बदाम गोडेर, साग टिपेर
गलित शरीरले विरामी हुँदा नि
एक गाँस तातो पकाएको
मैले बिर्सिएको छैन, आमा

आमा

तिमीले कयौं रात पीँडा पिएर झारेको आंशुमा
म आज खुशी खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पीँडा पिउन नपरोस्

तिमीले बिर्सियौ होला, आमा
बल्ल–बल्ल ल्याएको दुई पाउ मासुको
हाड-हाड आफूलाई राखेर, मासु–मासु मलाई खुवाएकी
तिमीले बिर्सियौ होला
धोतीको फेरमा बाँधेर बचाएको दुई रूपैयाँबाट
खुसुक्क एक रूपैयाँ मलाई दिएकी

आमा
तिमीले लगाएको थोत्रो धोती र चोलोमा
आज म इज्जत खोजिरहेछु
ता कि भोलि कुनै आमालाई लुकी हिँड्न नपरोस्

आमा
हामी सबैकी आमा
आशीष देउ हामीलाई
तिमीले आफूलाई जलाएर बालेको ज्योतिमा
हामी यस्तो प्रकाश खोज्न सकौं
भोलि कुनै आमा अँध्यारोमा बाँच्न नपरोस्
नेपाल आमा कहिल्यै रून नपरोस् !

(साझा पार्टीका संयोजक समेत रहेका मिश्रले आमाको मुख हेर्ने दिनको अवशरमा लेखेको कविता )