समाचार

बन्दाबन्दीकै बीच सडक मर्मत

१२ काठमाडौं बैशाख । बन्दाबन्दीका कारण रोकिएको बालाजु बाइपास क्षेत्रमा सडक सुधारको काम थालिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सामाजिक दूरी कायम गर्दै सडक मर्मतको काम थालिएको बताएका छन् । “जनताको जीवनरक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको छ”, उनले भने ।

गत चैत १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाको काम स्थानीय प्रसाशनको अनुमतिमा थालनी भएको हो । स्थलमा पुगेर फर्किएका राज्यमन्त्री मानन्धरले लकडाउनको समय सदुपयोग र व्यवस्थापनसहित काम थालनी गरिएको जानकारी गराएका छन् ।

मजदुरले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भीडभाड नहुने गरी काम थालनी गरिएको उनको भनाइ छ । यसअघि नै काम शुरु भएर रोकिएका स्थानमा काम थालनी गरिएको जानकारी दिँदै मूल सडकमा हुने काम भने केही दिनभित्रै सहजीकरण गरिने मानन्धरले बताएका छन् ।