लुम्बिनी

कांग्रेस र नेकपा कोरोना नियन्त्रणमा मिल्दा पाए सफलता, जनताले गरे प्रशंसा

१५ बैशाख स्वर्गद्वारी । प्युठानको ऐरावती गाउँपालिका १ मा गत वर्ष मङ्सिर १४ गते उपनिर्वाचन सम्पन्न भयो । निर्वाचनमा नेकपाका द्रोणप्रसाद पाण्डे नेपाली कांग्रेसका अमर रेश्मी मगरभन्दा नौ मत बढी पाएर वडाध्यक्षमा झिनो मतान्तरले विजयी भए ।

पराजित रेश्मीले विजयी उम्मेदवारलाई माला लगाएर बधाई दिएका छन् । विजयी पाण्डेले निर्वाचनमा आफूले जिते पनि विकास निर्माणल गायत वडाका सबै गतिविधिमा आफूहरु सहकार्यबाटै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि आफ्नो वडामा सञ्चालन हुने कार्यक्रमका लागि अहिले उनिहरुको सहकार्यको सबैले प्रशंसा गरेका छन् ।

वडाध्यक्ष पाण्डे र प्रतिद्वन्द्वी मगर कोराना भाइरस संक्रमण नियन्त्रणका हरेक योजना आपसी सल्लाहमा बनाउने र कार्यान्वयनका लागि संँगसँगै कार्यक्षेत्रमा खटिरहेका छन् । “चुनावमा भोट गन्दा जसले जिते पनि जनताले भोट दुवैलाई दिएकै हो”, पाण्डेले भने, “जनताको सेवा हामी मिलेर गर्छौं ।” दाङवाङ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका नागरिकको व्यवस्थापनका विषयमा दुवैले योजना बनाए ।

जनताको सेवाका लागि संँगै पुगेका दुवैमध्ये मगर वडाको विकास र जनताको सेवाका लागि सधैँ मतको राजनीति गर्न नहुने बताएका छन् । उनले भने, “उनि वार्ड अध्यक्षले सहयोग, सल्लाह सुझाव माग्नुहुन्छ, मैले पनि सहयोग गरेको छु, आज मेरै मोटरसाइकलमा संँगै आएका हौं ।” उक्त क्वारेन्टाइनको अनुगमनमा पुग्नुभएका प्युठान जिल्ला समन्वय समितिका संयोजक केशवराज आचार्यले दुवैको सहकार्य जिल्लामा उदाहरणीय रहेको बताए । उनले भने, “विपद्को बेला दुवैको सहकार्य राम्रो देखियो, विकासनिर्माण पनि यसै गरी मिलेर मात्र सम्भव छ ।”

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले जिल्लाको विकट गाउँमा जनताको सेवा मिलेर गरेको देख्दा अरुलाई पनि ज्ञान हुने बताए । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरी खानेलाई राहत वितरण गर्दा आफ्नो वडामा सर्वपक्षीय समिति बनाएर कुनै पनि विवाद नआउने गरी काम भइरहेको अध्यक्ष पाण्डेले बताए । प्यूठान नगरपालिका वडा नं ५ माझकोटमा पनि वडाध्यक्ष र विपक्षीबिच राम्रो सहकार्य छ ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुजबहादुर बैजाली र नेपाली कांग्रेसका कमानसिंह पुनको मत बराबर आयो । गोलाप्रथाबाट पुन विजयी भएका थिए । “परिणामले हामीलाई मिलेर काम गर भनेको हो”, वडाध्यक्ष पुनले भने, “गोला प्रथाबाट म अध्यक्षको कुर्सीमा भए पनि यो जीत दुवैको हो, मैले बैजालीजीसँगको सल्लाह, सुझाव लिएर काम गरेको छु ।”

गोला तान्दा पराजित भए पनि बैजाली वडाको विकास र जनताको सेवामा निर्वाचित वडाध्यक्ष जत्तिकै खट्दछन् । अहिले लकडाउनको समयमा दुवै मिलेर जनचेतनामूलक काम सञ्चालन गरिरहेका छन् । वडाका महत्वपूर्ण बैठकमा बैजाली प्रायः कहिल्यै छुट्दैनन् ।

नौबहिनी गाउँपालिका वडा नं ८ फोप्लीमा सर्वदलीय समिति बनाएर वडाका गतिविधि सञ्चालन गरिएको छ । वडाको विकासनिर्माणमा सबै दलका साथीको सल्लाह र सहकार्यबाट काम भइरहेको वडाध्यक्ष ओबिराम विक बताउछन् । विकले भने, “विकास सबैको हो, सबै मिलेर काम गरे गाउँको विकास छिटो हुन्छ ।” उनले कोरोना संक्रमणबाट बच्न वडामा सर्वपक्षीय समिति बनाएर संक्रमण नियन्त्रणमा लागिएको बताए । संक्रमण हुन नदिन लकडाउनको पूर्ण पालनामा ध्यान दिइएको कांगे्रस वडाध्यक्ष हुमलाल भण्डारीले बताएका छन् ।

वडा तहमा जस्तै गाउँपालिका र जिल्ला तहमा पनि नेताहरुबीच एकरुपता देखिएको छ । सरकारले तोकेको मापदण्डानुसार राहत वितरण सहज होस् भनेर सर्वपक्षीय समिति बनाएर काम गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऐरावतीका अध्यक्ष बुद्धबहादुर बस्नेत बताए ।

कांग्रेसका नेता तथा गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले आफूहरु राहतकै कारण विवादमा नफस्ने भन्दै सर्वपक्षीय समिति बनाएर लकडाउनमा गरिखाने वर्गका घरमा चुल्हो निभ्न नदिने योजनामा रहेको बताएका छन् । स्वर्गद्वारी नगरपालिकामा खडा गरिएको राहत कोषमा कांग्रेस नगर कमिटीले रु ३१ हजार बराबरको राहत जम्मा गरेको छ । ”“विपद्का बेला सत्तापक्ष र प्रतिपक्षको सहकार्य राम्रो हुनुपछै”, कांग्रेस स्वर्गद्वारी नगर कमिटीका अध्यक्ष तिलक सुनारले भने, “यतिबेला हामीले नगरपालिकालाई सहयोग गरेका छौं ।”

जिल्ला तहमा पनि राजनीतिक दलका नेताहरुले आफ्ना नेताकार्यकर्तालाई श्रमजीवी वर्गप्रति राजनीति नगर्न आग्रह गरेको कांग्रेस प्युठानका सभापति अमरप्रसाद भण्डारीले बताए । उनले भने, “गरीब जनतालाई वितरण गरिने राहतकै विषयलाई लिएर राजनीति गर्नु महापाप हो ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष तुल्सीराम शर्माले एकद्वार प्रणालीबाट राहत बाँड्ने सरकारी निर्णयको पूर्णपालना गर्दै यस्तो बेला एकजुट हुन सबैलाई आग्रह गरेका छन् । उनले भने, “स्थानीय सरकारलाई सहयोग गर्ने र एकद्वार प्रणालीबाट राहत वितरण गरी एक जुट भएर कोरोना भाइसबाट बच्नुको विकल्प छैन ।”