लुम्बिनी

पाल्पामा एक महिनापछि खोप सेवा पुनः शुरु

१७ वैशाख, रामपुर । बन्दाबन्दीले रोकिएको नियमित खोप लगाउने कार्य पाल्पामा एक महिनापछि पुनः सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत रुपमा बालबालिकालाई लगाइने खोप पुनः सञ्चालन गरेपछि जिल्लाका दशै स्थानीय तहमा खोप लगाउने कार्य सञ्चालन भएको हो । बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप वडावडामा लगाउन स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

दोस्रो चरणअन्तर्गत रामपुर नगरपालिकासहित निस्दी, रम्भा र पूर्वखोला गाउँपालिकामा यही वैशाख १६ देखि २२ गतेसम्म खोप लगाउने कार्यतालिकानुसार खोप सेवा शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

जिल्लामा पहिलो चरणमा वैशाख ८ देखि १६ गतेभित्र तानसेन नगरपालिका सहित बगनासकाली, माथागढी, रिब्दिकोट र तिनाउ गाउँपालिकामा खोप लगाउने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा परेको रैनादेवी छहरा गाउँपालिकामा भने केही प्रक्रिया नपुगेपछि आगामी जेठमा खोप लगाइने कार्यक्रम तय भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा वार्षिक करीब पाँच हजार ७०० को पन्ध्र महिनामुनिका बालबालिकालाई ११ प्रकारका खोप दिने गरिएको जनस्वास्थ्य कार्यालयका खोप अधिकृत ओमप्रकाश पन्थी बताउछन् ।

रामपुर अस्पतालमा ज्वरो परीक्षण कक्ष
रामपुर अस्पतालमा ज्वरो परीक्षण कक्ष निर्माण गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न अस्पतालको परिसरमा इञ्जिनीयर युवाद्वारा कक्ष बनाइएको हो । व्यक्तिगत सुरक्षा सामग्रीका अभावमा पञ्जा मात्रै लगाएर पनि कक्षभित्र बसेर स्वास्थ्य परीक्षण गर्न सकिन्छ ।

सीताकुण्ड आइटी एण्ड इञ्जिनीयरिङ प्रालिका सञ्चालक सुरज भण्डारी, इञ्जिनीयर दीपेन्द्र न्यौपाने र युवराज न्यौपानेले आल्मुनियम उद्योगका शंकर भट्टराईको सहयोगमा कक्ष बनाइदिएका हुन् । अस्पतालले उपलब्ध गराएको सामग्रीबाट युवाले कक्ष तयार पारेपछि सङ्क्रमणको जोखिम कम भएको अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले बताए ।