अन्तर्राष्ट्रिय

कोरोना आतंकः अमेरिकाको अर्थतन्त्रमा दशकै यताको ठुलो संकुचन

एजेन्सी । चीनको उहानबाट फैलिएको कोरोना महामारीको नराम्रोसंग असर अमेरिकामा परेको छ । त्यहाँ संक्रमीत र मृत्यु को संख्या तिब्र गतिमा बढेको छ । यतिमात्रै होईन कोरोनाका कारण अमेरिकाको अर्थतन्त्र पनि खलबलिएको छ । अमेरिकामा यस वर्षको पहिलो तीन महिनाको तथ्याङ्कअनुसार अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ ।

कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो । बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ । यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी बिस्तारलाई समाप्त पारिदिएको छ ।

तर मार्चमा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्याङ्कले सङ्कटको सङ्केत मात्र गर्छ । फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार ब्याङ्कले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए । अमेरिकी केन्द्रीय ब्याङ्कका नीति निर्माताहरूले बुधवार कोरोनाभाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन् ।

अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने भएको छ । त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा दिइने नगद पनि सामेल छ । फेडेरल रिजर्भले सङ्कटकालीन कदमहरूको पनि जानकारी दिएको छ । त्यसमा ब्याजदरलाई शून्यको नजिक पुर्‍याउनेलगायतका कदमहरू छन् । फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार ब्याङ्कले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए । उनले अहिलेको सङ्कट निकै तीव्र र गहिरो हुनसक्ने चेतावनी पनि दिएका छन् ।