१८ वैशाख, लुम्बिनी । रुपन्देहीका स्थानीय तहले मजदूर तथा अतिविपन्न परिवारका लागि महिनाभरि पुग्ने खाद्य सामग्री वितरण सुरु गरेका छन् ।
सिद्धार्थनगर नगरकार्यपालिकाले कार्यविधि निर्माण गरेर हरेक वडावडामा उक्त सामग्री वितरण शुरु गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “करीब एक महिनासम्म खान पुग्नेगरी परिवार संख्याको आधारमा समस्या परेकालाई खाद्यान्न सहयोग प्रदान गर्न थालेका छौँ ।” नगरका १३ वडाले बन्दाबन्दीका कारण समस्या भएकाहरुको लगत संकलन गरी वडास्तरीय निर्णय गरेर पठाएका थिए ।
नगर प्रमुख अधिकारीका अनुसार नगरभित्र बसोबास गर्ने दुई हजार ८०९ मजदूर, दुई हजार २४ भाडामा बस्ने कमजोर आर्थिक अवस्था भएका नागरिक र एक सय भारतीय गरी चार हजार ९३३ लाई एक महिनासम्म खाना पुग्नेगरी खाद्य सामग्री राहतस्वरुप प्रदान गर्न थालिएको हो । नगरले यसअघि एक हजार ८७२ लाई पहिलो चरणको राहत सहयोग उपलब्ध गराएको थियो ।
जिल्लाको एउटा मात्र उपमहानगरपालिका बुटवलमा अहिलेसम्म चौथो चरणको राहत वितरण कार्यक्रम चलिरहेको छ । उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यका अनुसार पहिलो चरणमा पाँच हजार घरधुरी, दोस्रो चरणमा ६ हजार पाँच सय र तेस्रो चरणमा सात हजार ६ सय र चौथो चरणमा चरणमा १० हजार ३७५ घरधुरीलाई राहत वितरण गरिसकिएको छ । उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीका अनुसार पहिलो लकडाउन लम्बिएसँगै राहत लिनेको सङ्ख्या बढिरहेको छ ।
यस्तै समरीमाई गाउँपालिका, रोहिणी, गैडँहवा, कञ्चन, ओमसतिया, सियारी, मर्चवारी, शुद्धोधन, मायादेवी र देवदह गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक, तिलोत्तमा सैनामैना नगरपालिकाले पनि राहत वितरणलाई तीव्रता दिएका छन् ।
स्थानीय पालिकामा वितरित राहतको सम्पूर्ण अनुगमनको जिम्मेवारी प्रदेश सरकारले जिल्लागत रुपमा जिल्ला समन्वय समितिलाई दिएको छ । राहत वितरणको अनुगमन गरिरहेको जिससका सभापति एकराज विश्वकर्माले जिल्लाको उत्तरी क्षेत्रमा राहत वितरण व्यवस्थित भएको देखिएको तर दक्षिण क्षेत्रको मर्चवारका पालिकामा आफूखुशी वितरण गरिएकाले अनुसन्धान हुने बताए ।