अन्तर्राष्ट्रिय

व्यक्तिगत दुरी पालना नगर्दा बेलायतमा लकडाउन सिफारिस गर्ने प्रोफेसरद्वारा राजीनामा

२४ बैशाख काठमाडौं । कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहाकारले पदबाट राजिनामा दिएका छन् । बेलायतमा लकडाउन सिफारिस गर्ने प्रोफेसर निल फर्ग्युसन आफैले सामाजिक प्रतिबन्ध (व्यक्तिगत दुरी) को पालना नगरेपछि पदबाट राजीनामा दिएका छन् ।

आफ्नो राजीनामाको घोषणा गर्दै उनले आफुले गलत गरेको स्वीकारदै पदबाट राजिनामा दिएको बताएका छन् । कोरोना महामारीबाट बच्न मैले सामाजिक प्रतिबन्ध र व्यक्तिगत दुरीलाई जोड दिँदै आएको थिएँ र आफैले त्यसलाई नजरअन्दाज गरेँ, उनले भनेका छन् ।

लण्डनको डेली टेलिग्राफ अखबारले एउटा रिपोर्ट छापेको थियो, जसमा प्रोफेसर फर्ग्युसनले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए र त्यो सामाजिक प्रतिबन्धसम्बन्धी नियमको उल्लङ्घन थियो ।

प्रोफेसर फर्ग्युसन सेन्टर फर ग्लोबल इन्फेक्शन डिजिज एनालिसिसका निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई आफ्रिकामा इबोलादेखि लिएर अहिले महामारीको रुप लिइरहेको कोरोनासम्मको विषयमा सल्लाह दिन्छ । यही संस्थाले गएको जनवरीमा विश्वलाई कोरोनाको खतरासँग सचेत गराएको थियो ।