अन्तर्राष्ट्रिय

बेलायतमा बुधबारदेखी लकडाउन खुुकलो हुँदैःप्रधानमन्त्री जोनसनले कस्तो बनाए योजना ? हेर्नुहोस् !

२९ बैशाख काठमाडौं । बुधबारदेखी बेलायतमा लकडाउन केही खुकुलो हुने संकेत छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खोल्नका लागि चरणवद्ध योजना सार्वजनिक गरेका छन् । आइतवार राष्ट्रको नाममा सम्बोधन गर्दै बुधवारदेखि लागू हुने ५ विविध चरणका योजना बारे जानकारी दिएका हुन् ।

पहिलो चरणमा विभिन्न कार्यालय, पसल र शैक्षिक संस्थाहरु खुल्नेछन् । जोनसनले घरबाट काम सम्भव नभएकाहरुलाई सार्वजनिक सवारी साधनको प्रयोग नगरी कार्यालय जान निर्देशन दिएका छन् ।

यसै चरणमा पसलहरु पनि खुल्ने सम्भावना रहेको बताए । त्यस्तै जुन १ देखि निम्न माध्यमिक तहका विद्यार्थीहरु विद्यालय जान पाउने बताएका छन् । दोस्रो चरणमा भने सेवामूलक व्यवसाय र अन्य सार्वजनिक स्थलहरु पुनः सञ्चालनमा ल्याउने योजना छ । जुलाइ १ भन्दा अघि यो योजना लागू हुने छैन ।

देशलाई पूरानै अवस्थामा फर्काउने रोड म्यापको पहिलो खाका हो यो, प्रधानमन्त्रीले भने, यो लकडाउन खोल्ने उचित समय होइन । त्यसैले हामीले तरिका बदल्न चालेको पहिलो कदम भने पक्कै हो । उनले लकडाउनको नियम उलङ्घन गर्नेलाई जरिवाना हुने समेत बताए । अन्य योजना सोमवार प्रकाशित हुनसक्ने बीबीसीले जनाएको छ । एक सरकारी अधिकारीले दिएको जानकारी उल्लेख गर्दै लेखिएको छ, नयाँ योजनामा दुई मिटरको दूरी कायम गर्दै पार्कहरुमा भेटघाट गर्न सकिने बताइनेछ ।

मानिसहरु सामाजिक दूरी कायम गर्दै पार्क र समुद्री तटमा जान पाउने छन् । तर, क्वारेन्टाइनमा रहन भनिएकाहरुमा यी नियम लागू हुने छैन। उनीहरु कम्तिमा पनि १२ साता घरमै रहनु पर्नेछ । जोनसनले आम मानिसलाई सकेसम्म घरमै रहन, घरबाटै काम गर्न र सार्वजनिक सवारी साधनको प्रयोग नगर्न आग्रह गरेका छन् ।

बुधवारदेखि बेलायतीहरुले बाहिर निस्किएर शारीरिक व्यायम गर्न भने पाउने छन् । पार्क र सार्वजनिक स्थलहरुमा अनिवार्य दुई मिटरको दूरी कायम राखी समय बिताउन पाइने बताइएको छ ।