३० बैशाख काठमाडौं । आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।
अहिले बिहान काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको उनले बताइन् । ‘तर अपराह्नपछि यहाँ पनि बदली भई मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । यस्तै देशभका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौमसविद् बासीले जानकारी दिइन् ।
उनका अनुसार तत्काल (मंगलबार) बिहान भने पश्चिमी क्षेत्रमा सामान्य बदली छ भने देशका बाँकी भूभागमा मौसम आंशिक (घाम बादल घाम बादल बदली) छ । मौसमविद्का अनुसार अहिले मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव छ । सोही कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने क्रम चलिरहेको हो ।
यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ ।