२ जेठ काठमाडौं । आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका सबै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।
यसैगरी पश्चिम पहाडमा पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ । ‘पश्चिम पहाडमा मध्याह्नपछि वर्षा हुने देखिन्छ भने केही स्थानमा त अहिले नै वर्षा सुरु भइसकेको छ,’ शुक्रबार बिहान मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पानी पर्न सुरु भइसकेको छ भने पूर्वका पनि केही ठाउँमा वर्षा भइरहेको छ।’
प्रिमनसुन भएकाले वर्षाका साथमा हावाहुरी, चट्याङको पनि उत्तिकै सम्भावना रहने मौसमविद्ले बताएका छन्।