एजेन्सी । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी छिन् । उनि दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् ।
सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो ।
स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनि ठीक भएकी हुन् । चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो ।
डिस्चार्जका समयमा पुष्प गुच्छासहित उनलाई सम्मान गरिएको थियो । उनले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिएकी थिईन ।