अन्तर्राष्ट्रिय

ट्रम्पको दाबीः खोप पत्ता नलागे पनि अमेरिकाको जनजिवन चाँडै सामान्य बन्छ

३ जेठ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको खोप पत्ता लागे वा नलागे पनि अमेरिकाको जनजिवन चाँडै नै सामान्य बन्ने दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले यस वर्षको अन्तिमसम्म खोप बनिसक्ने घोषणा समेत गरेका छन् । उनले भनेका छन् केरोनाको खोप बनोस या नबनोस अमेरिका चाँडै नै खुल्छ ।

ट्रम्पले पूर्ण रूपमा मानिसहरू खोपमा निर्भर नरहने बताएका छन् । खोप निर्माणको प्रक्रिया सुरु भइसकेकाले अब खोप नबने पनि अमेरिका सामान्य बन्ने उनको भनाइ थियो । अन्य धेरै फ्लुको खोप नबन्दा पनि मानिसहरूमा ती फ्लूविरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास भएको उनले बताए ।

धेरै विशेषज्ञहरुले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसको खोप निर्माण हुनेमा आशंका व्यक्त गरेका छन् । अहिले विभिन्न १४ किसिमका खोप निर्माणको प्रयास भइरहेको बताए । उनले निकै छिटो र महत्त्वपूर्ण हिसाबमा यो खोप निर्माण हुने अपेक्षा पनि व्यक्त गरे ।

खोप निर्माणको नेतृत्व ग्लोक्सोस्मिथक्लाइनकाको खोप विभागको नेतृत्व गरिसकेका मोनासेफ स्लाओइलाई दिइएको छ । ट्रम्पपछि बोल्दै स्लाओइले सन् २०२० को अन्तिमसम्म लाखौं डोजको कोरोना भाइरसको खोप निर्माण हुने दाबी गरेका छन् । उनले यसअघि यो समयसीमा निकै महत्त्वाकांक्षी भए पनि आफूले पूरा गर्न नसकिने प्रतिबद्धता नजनाउने बताएका थिए ।