अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी निरीक्षणका लागि पश्चिम बंगालमा

९ जेठ, कोलकाता । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पश्चिम बंगालको भ्रमणमा निस्किएका छन् । उनी शुक्रबार बिहान कोलकाता विमानस्थल पुगेको बताइएको छ ।

भारतको पश्चिम बंगालमा अम्फान आँधीले पु¥याएको क्षतिको अनुगमनका लागि उनी त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

बुधबार र बिहीबार आएको अम्फान आँधीका कारण पश्चिम बंगालमा मात्र ७२ जनाको मृत्यु भएको समाचार यसअघि नै आइसकेको छ । प्रधानमन्त्री मोदीलाई शुक्रबार बिहान कोलकाता विमानस्थलमा पश्चिम बंगाल राज्यका गभर्नर जगदीप धनखर र पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले स्वागत गरेकी थिईन्।

हिजोको आँधीको कारण कोलकाता विमानस्थल जलमग्न भएको थियो । आँधीले यस राज्यमा मात्र पाँच हजार भन्दा बढी घर भत्काएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले यहाँका शोकाकुल परिवारमा समवेदना पनि व्यक्त गरेका थिए ।

त्यस आँधीको क्षतिको बारेमा जानकारी लिन र शोकमा परेका परिवारलाई सान्त्वना दिन उनी आज पश्चिम बंगाल पुगेका हुन् । साथै यस भ्रमणपछि उनले त्यहाँका अधिकारीहरुलाई विशेष दिर्नेशन दिने कार्यक्रम रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

बंगालको खाडीबाट आएको अम्फान नामको आँधी कोलकाता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । यस आँधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ ।