-गोविन्द घिमिरे ‘वेदमणि’ – कविता
नेपालीले भूल यौटा गरे छन् कालापानीको कथा बर्सिएछन् ।
कालो छायाबाट यो ढाकिए छ ठूलो माछाको मुखैमा परेछ ।।
हल्ले सारा टाउको टोक्न पुग्दा नेपालीको देह सम्पूर्ण दुख्दा ।
वर्षौं बित्दा मात्र भो जानकारी त्यो माछाको दुष्टता चाल भारी ।।
नक्सा ल्यायो मात्र आफ्नो भनेर हामीलाई मात्र सानो गनेर ।
ठान्यो उल्ले गोरुको सिँग तोडेँ मान्यो है नेपाललाई पछारेँ ।।
खुट्टा टेक्यो लिम्पियाको धुरामा नेपालीको शान राख्यो छुरामा ।
कालापानी भित्र सेना लुकाई राख्यो हाम्रो छातिमा नै चढाई ।।
हाम्रो नक्सा छापियो सिँग उम्य्रो गज्र्यो साँढे जुध्न आँटे सरी भो ।
छाडा कुत्ता भैगए पत्रकार सिङ्गै टोक्लान् झैँ भए बेसुमार ।।
नालामानीमा लडेथ्यौँ मरेर कालापानीमा बस्यौं खुम्चिएर ।
लड्थे हाम्रा वीर नेपाल जाति ढाल्थे द्रोही देशको शान राखी ।।
बैरी मारेरै मरे भै शहीद हार्दै जित्दै साम्य पारे विवाद ।
त्यो अङ्ग्रेजी बाध्य भो सन्धि गर्न छाडी भाग्यो शत्रु नेपाल मार्न ।।
हामी हुन्थ्यौं वीर नेपाल जाति गोर्खालीको नाममै हुन्छ ख्याति
पूर्खाजस्तै छौँ अझै युद्ध वीर पर्दा त्याग्छौं देशलाई शरीर ।।
सेना हाम्रा छन् अझै शक्तिशाली पर्दा लड्छन् पाइला झन् उचाली ।
सारा हामी छौँ उनैका पछाडि हे नापाली छोडि द्यौ जान खाडी ।।
हामी वाँच्छौं देश नेपाल बाँच्दा हामी मर्छौं देश नेपाल मर्दा ।
आत्मा हाम्रो देशको साथमा छ नेपालीकै देश यो हातमा छ ।।