२० जेठ, काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बन्दाबन्दीको समयमा उपचारको अभावमा जीवन क्षति हुने अवस्था आउन नदिने गरी व्यवस्थापन गर्न र आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई पुनःस्थापित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले समयमा नै उपचार नपाएका गर्भवती, सुत्केरी तथा बालबालिकाको अकालमा जीवन क्षति भैरहेको जनाउँदै उच्च जोखिममा रहेका गर्भवती, सुत्केरी तथा बालबालिकाको जीवन रक्षाका लागि सबै विकल्प प्रयोग गर्न नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र समन्वयका लागि महिला, बालबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
निर्देशनका भनिएको छ, “हामी सबैको सार्थक प्रयासबाटै यस कोरोना महामारीबाट पार पाउन सकिने भएकाले सम्बन्धित सबैलाई संयमित भई जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न, गराउन समिति उल्लेखित सबै पक्षलाई विनम्रतापूर्वक अनुरोध गर्दछ ।”