समाचार

काँग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकका स्वास्थकर्मीको गरे स्वास्थ्य बीमा

२२ जेठ, मेलम्ची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना, सञ्चार तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थकर्मीहरुको आवधिक स्वास्थ्य बीमा गरिदिएका छन् ।

जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीका लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बीमाको फाइल र स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंलाई पूर्वमन्त्री बस्नेतले आज सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारालगायत जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य क्षेत्रमा कार्यरत कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म ६१३ जनाको कोरोना बीमा गरिदिएको काँग्रेस युवा नेता युधीर पौडेलले जानकारी दिए ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को रोकथाम नियन्त्रणका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो जिम्मेवारीमा लागि रहने हौसलाका लागि यो निर्णय लिएको नेता बस्नेतले बताए । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको उक्त बीमाको बीमालेख जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा हुने र बीमाको अवधि एक वर्षको हुने कम्पनीले जनाएको छ । प्रतिव्यक्ति एक लाख रकम बराबरको उक्त बीमा रकमको भुक्तानी बिमित स्वास्थकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको खण्डमा तत्काल उपलब्ध गराइने आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रबन्धक नारायण खनालले जानकारी दिए ।