बाग्मती

सिँचाइ व्यवस्थापनका लागि व्यापक श्रम परिचालनः मन्त्री फुँयाल

हेटौँडा, २७ जेठ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सिँचाइको व्यवस्थापनका लागि सरकारका तर्फबाट व्यापक श्रम परिचालन गरिएको बताएका छन् । सरकारले कोभिड–१९ को प्रभावका कारण कृषि उत्पादनलाई प्राथमिकता दिएकाले माटो उत्पादनशील भइकन पनि सिँचाइ अभावका कारण उत्पादन हुननसकेका भूमिलाई सिँचित बनाइने बताए ।

सोमबार रासससँग कुरा गर्दै मन्त्री फुँयालले लकडाउनका कारण उत्पन्न परिस्थितिको सामना गर्न उत्पादन बढाउनुपर्ने र त्यसका लागि मन्त्रालयले ठूला तथा मझौला नहरको निर्माण एवं मर्मत गर्नुपर्ने तथा विगतमा विविध कारणले रोकिएको कुलो तथा राजकुलोको पुनः सञ्चालन गरिनुपर्ने उल्लेख गरेका छन् ।

उनले आफूले मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नासाथ सिँचाइका योजनालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए । लक्ष्य निर्धारणसहित तालिका बनाएर केन्द्र, प्रदेश तथा स्थानीय तहसँग एवं तिनका प्रतिनिधिसँग समेत समन्वय गरी धमाधम काम भइरहेको उनको भनाइ थियो ।

मन्त्री फुँयालले हाल प्रदेश सरकार वास्तविक किसान र सही उपभोक्तामाझ पुगेको भन्दै प्रदेशका १३ वटै जिल्लाका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा सिँचाइका साना, ठूला योजनाको काम, मर्मतसम्भार तथा रोकिएका कुलोहरुको पुनः सञ्चालन गर्ने काम धमाधम भइरहेको उल्लेख गरेका छन् ।

उहाँले प्रदेशको कृषि मन्त्रालय तथा वन मन्त्रालयले कार्यान्वयन गर्न गइरहेका कृषि कार्यक्रम तथा जडीबुटी खेतीका लागि पानी अपरिहार्य भएको भन्दै मन्त्रालयले सिँचाइका पूर्वाधार निर्माणको कामको गति बढाउन अनुगमन तथा उपभोक्तालाई प्रत्यक्ष संलग्न गराउने खालका काममा मन्त्रालय जुटेको जानकारी दिएका छन् ।

मन्त्री फुँयालले टीकाभैरवबाट पाटनसम्मको ६०० वर्षभन्दा पनि पुरानो लिच्छवीकालीन राजकुलो दैनिक १०० भन्दा बढी श्रमिक परिचालन तथा जनश्रमदानसहित पुनःनिर्माण भइरहेको जानकारी दिएका हुन् । टीकाभैरवबाट थैव, सुनाकोठी, खुमलटार हुँदै वाग्मतीमा पानी खसाल्ने गरी उक्त राजकुलो यही असारसम्ममा प्रयोग गर्न मिल्ने गरी द्रुतगतिमा काम भइरहेको उनले बताए ।