२९ जेठ, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले लगभग १२ मा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएकोे जानकारी दिए ।
करिब ६ हजार जनसङ्ख्या मात्र रहेको सो गाउँपालिकामा बिरामी पर्दा जिप बोलाएर आठदेखि १० हजार तिरेर अस्पताल जानुपर्ने अवस्थाको अन्त्य भएको वडा नं ६ आश्राङ निवासी ६१ वर्षीय मानबहादुर बोम्जन तामाङले बताए ।
कोञ्ज्योसोम गाउँपालिकाले गत वर्ष १४ लाखमा एम्बुलेन्स खरिद गरेको थियो । सोही एम्बुलेन्स हाल गाउँवासीलाई सुविधा पुर्याइरहेको गाउँपालिकाका सूचना अघिकारी चित्रदेव दाहालले बताए । उनले भने, “हाम्रो गाउँपालिकामा हाल लगभग १० हजार जनसङ्ख्या रहेको छ । गाउँवासीलाई पर्ने समस्या समाधान गर्न एउटा एम्बुलेन्स भए पनि पुगिरहेको छ ।”
महाँकाल गाउँपालिकामा पाँच महिनाअघि एम्बुलेन्स भित्रिएको थियो । नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको सहयोगमा एम्बुलेन्स भित्र्याएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । उनले भने, “ एम्बुलेन्स भएसँगै बिरामीका आफन्तले ६५ किलोमिटर पार गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि सवारी भाडा तिरेर आउनुपर्ने समस्याको अन्त्य भएको छ ।”
महालक्ष्मी नगरपालिकामा हाल चार सामुदायिकस्तरका एम्बुलेन्स सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “यहाँको वडा नं ६ सिद्धिपुरमा रहेका शान्ति विकास केन्द्र तथा सत्य युवा समूह नामक दुई संस्था र वडा नं ७ मा रहेको चागाथली क्लबले चाहेका बखत नगरवासीलाई बिनाशुल्क एम्बुलेन्स सुविधा दिइरहेको छ ।” नगरपालिकाले एम्बुलेन्स चालकलाई स्वास्थ्य सुरक्षाका सामग्रीको साथै इन्धनसमेत व्यवस्था गरिदिएको उनले जानकारी दिए ।
गोदावरी नगरपालिकाले थेचो, गोदावरी, लेले, बज्रावाराही, आनन्दवन अस्पताल र डुकुछापबाट एम्बुलेन्स सेवा दिइरहेको छ । नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “नगरवासी कोही कसैलाई कोरोनाको सङ्क्रमण भई बन्दाबन्दी अवधिभर अस्पताल लानुपरेमा हामीले यी एम्बुलेन्सलाई १०० लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेका छौँ ।”
ललितपुर महानगरपालिकासँग हाल दुई एम्बुलेन्स सञ्चालनमा रहेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । ललितपुर जिल्लामा ५० देखि ५२ एम्बुलेन्स दर्ता छन् । यीमध्ये कूल ३८ एम्बुलेन्स हाल सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “कोरोना जोखिम बढेसँगै हामीले चालक र एम्बुलेन्स दुवैलाई स्वस्थ र शङ्कारहित बनाउन स्वास्थ्य तालिम दिएका छौँ । एम्बुलेन्समा बिरामी बोकेपछि हरेक दिन औषधि छर्किने वातावरण पनि मिलाउने छौँ ।” जनस्वास्थ्य कार्यालय र सुन्दर ढोका नामक संस्थाले ललितपुरका एम्बुलेन्स चालकलाई सुरक्षा कवचका रूपमा मास्क, स्यानिटाइजरलगायत पिपिइ सेट पनि प्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।