लुम्बिनी

रुकुम घटनाको विरोधमा पञ्जेबाजा बजाउँदै हतियार प्रदर्शन

३० जेठ, खोटाङ । पश्चिम रुकुममा भएको घटनाको विरोधस्वरुप दिक्तेल बजारमा आज नारा–जुलुससहित साङ्केतिक हतियार प्रदर्शन गरिएको छ । आफ्नो प्रेमिका लिन पश्चिम रुकुम पुगेका जाजरकोटस्थित भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मासहित छ जनाको हत्याको विरोधमा प्रदर्शन गरिएको हो ।

यही जेठ १० गते सामूहिक हत्या गरिएको विरोधमा जिल्लामा गठित संयुक्त सङ्घर्ष समितिले एकोहोरो पञ्चेबाजा बजाउँदै विभिन्न हातहतियारका साथमा दिक्तेलको हाटडाँडादेखि रत्नपार्कसम्म नाराजुलुस लगाएका छन् । प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा, घटनाका दोषीलाई कारवाही, राज्यको सबै तहमा जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टीलगायतको माग गरेका छन् । सङ्घर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनका क्रममा हाटडाँडा, बैंकचोक, त्रिवेणीचोक, बेसक्याम्प, सङ्गमपार्क र रत्नपार्कमा कोणसभा गरेका थिए ।