समाचार

स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने सुत्केरीलाई स्वास्थ्य सामग्री वितरण

३ असार, झिमरुक । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष ०७६/०७७ मा ‘उपप्रमुख कोसेली कार्यक्रम’ मार्फत तीन सय गर्भवती तथा सुत्केरीलाई कोसेली हस्तान्तरण गरेको छ । नगरक्षेत्रका गरीब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने गर्भवती तथा सुत्केरीका लागि सहयोग पुयाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत सुत्केरी तथा गर्भवतीलाई कोसेली वितरण गरिएको हो ।

चालु आर्थिक वर्षको माघमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने दुई सयलाई अभियानका रुपमा झोला वितरण गरिएको छ । झोलासँंगै सरसफाइ र सेनेटरी प्याड गरी नौ प्रकारका सामग्री वितरण गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए। नगरका विभिन्न वडामा रहेका स्वास्थ्य संस्थामै पुगी अभियानका रुपमा वितरण गरिएको उनको भनाइ छ ।

सोपूर्व सेभ द चिल्डेनको सहयोगमा गर्भ जाँच गराउँदा गर्भवतीले कोसेली सामग्री पाए पनि चालु आवमा सो कार्यक्रम सकिएपछि उपप्रमुख कोसेली कार्यक्रममार्फत नै गर्भवती/सुत्केरीलाई कोसेली दिइएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । माघसम्म स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी हुनेलाई कोसेली दिइएको थियो । माघपछि गर्भवती हुनेलाई गर्भ जाँच गराउन आउँदा कोसेली वितरण गरिएको छ ।
हालसम्म तीन सय महिलालाई कोसेली प्रदान गरिएको र एक सयलाई वितरण गर्न बाँकी छ । नगरपालिकाले चालु आवमा पाँच सय महिलालाई कोसेली वितरण गर्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।

‘उपप्रमुख कोसेली कार्यक्रम’ का लागि नगरपालिकाले चालु आवमा २० लाख बजेट विनियोजन गरेको नगर उपप्रमुख गोमा रेग्मीले बताए । गर्भवती र सुत्केरीले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुरा नखाएको र व्यक्तिगत सरसफाइमा ध्यान नगएको पाइएकाले सो कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख रेग्मीले बताए । सो कार्यक्रममार्फत प्रतिसुत्केरी तथा गर्भवतीले दुई हजार पाँच सय बराबरको सामग्री पाएका छन् ।