४ असार काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७र७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएका छन् ।
प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीले बजेटले कोरोनाको रोकथाम, नियन्त्रणका साथै स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । सीमित स्रोत र साधनकाबीच विगतका विकास निर्माणका योजनालाई बजेटले निरन्तरता दिएको उनले बताए । प्रदेशका माननीयलाई विकास निर्माण एवं स्थानीय तहसँग जोडिने गरी कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताएका छन् । युवा तथा खेलकूद, उद्योग, पर्यटनका हरेक क्षेत्रमा बजेट केन्द्रित भएको बताउँदै उनले यो बजेट प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध भएको धारणा राखेका छन् ।
अर्का सदस्य इन्द्रलाल सापकोटाले कोरोनाको सन्त्रासबीच आएको बजेटले यसको रोकथामका लागि रु तीन अर्ब विनियोजन गरेको बताउनुभयो । नीति तथा कार्यक्रमका साथै प्रदेशको पञ्चवर्षीय योजना दिगो विकासको लक्ष्यका आधारमा बजेट आएको उनले बताएका छन् । बजेटले विगतका सबै योजनालाई समेटेर निरन्तरता दिएको उनले उल्लेख गरे । चालु आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था राम्रो नदेखिएको बताउँदै उनले यसको समीक्षा गर्दै नीतिगत एवं शासनप्रणालीमा सुधार गर्नुपर्ने विषयलाई सुधार्दै जानुपर्ने सुझाव दिएका छन् ।
सदस्य खिमविक्रम शाहीले कोरोनालाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएको बताएका छन् । उनले गाउँपालिकाका क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन नभएको पाइएकाले आगामी दिनमा त्यसतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । आरडिटीलाई बन्द गरी पिसिआर परीक्षण बढाउँदै चाँडै रिपोर्ट आउने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् । चालु आवमा खर्च नहुँदा बजेट बढ्न गएको बताउँदै उनले खर्च गर्न नसक्नु सरकारको असफलता भएको बताए ।
सदस्य धनमाया पोखरोल लामाले बजेट परम्परावादी भएको टिप्पणी गरेका छन् । बजेटले स्वास्थ्य, शिक्षा कृषिमा बढी चर्चा गरे पनि त्योअनुरुप बजेट आउन नसकेको उनको धारणाा थियो । कोरोना प्रभावित वैदेशिक रोजगारी गुमाएका र यही रोजगारी नभएका व्यक्तिका लागि बजेटले बोल्न नसकेको उनले उल्लेख गरेका छन् । गोरखाको चुमनुब्रीको विकास गर्दै त्यसको पर्यटकीय विकास एवं चीनसँग व्यापारिक नाका जोड्नका लागि उनले ध्यानाकर्षण गराएका छन् ।
सदस्य मीना गुरुङले बजेट सही कार्यान्वयन हुनसकेमा यसले समृद्धि प्राप्त गर्न सम्भव हुने बताए । बजेटले कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिका लागि लागि सीप, पूँजी र प्रविधि अभिवृद्धिका लागि रु १८ करोड छुट्याएको बताएका छन् । अनुत्पादक लगानी र खर्चलाई कटौती गर्दै सरकारले रोग भोक र शोकको समस्याको समाधानलाई प्राथमिकतामा राखेको उनले बताए । बजेट समाजवाद उन्मुख रहेको गुरुङको भनाइ छ ।
यस्तै कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आव २०७७र७८ बजेटमाथि छलफल शुरु भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको १४औँ बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजश्व र व्यय अनुमानसहितको आगामी आवको बजेट छलफलका लागि सभासमक्ष प्रस्ताव गरेसँगै बुधबारदेखि बजेटमाथि छलफल शुरु भएको हो ।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले ल्याएको बजेटमा चिन्ता बढी र चिन्तन कम भएको टिप्पणी गरेका छन् । बजेट महामारी, भोकमरीका लागि ठीकै भए पनि रोजगारी शङ्का देखिएको नेता शाहीले तर्क गरेका छन् । “कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले आगामी आवका लागि ल्याएको रु दुई अर्ब ७७ करोड बजेट स्वागतयोग्य र प्रशंसनीय छ”, उनले भने, “यसले यहाँका नागरिकको दीर्घकालीन स्वास्थ्य उपचारमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।”
बजेट कविताजस्तो भएको टिप्पणी गरेका उनले यसलाई अर्थशास्त्रीय ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरेका छन् । जनप्रतिनिधि र उनका परिवार उपभोक्ता समिति बस्न नपाउने भन्ने कुरा निकै राम्रो भएको जनाउँदै नेता शाहीले ठूला पार्टीका जिल्ला, गाउँ कार्यसमिति सदस्य र तिनका परिवारका सदस्यलाई पनि प्रतिबन्ध लगाउन सरकारलाई सुझाएका छन् । त्यस्तै, सदस्य हिमबहादुर शाहीले सभा सदस्यले दिएका सुझाव ग्रहण गरेर अगाडि बढ्न अनुरोध गरेका छन् ।
सत्तापक्षका प्रदेशसभा सदस्य देवी ओलीले, कौशिला खत्रीले समानीकरण र राजश्व बाँडफाँटमा यस प्रदेशका महिलालाई बजेटको पाँच प्रतिशत विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । सदस्यद्वयले प्रत्यक्ष र समानुपातिक सदस्य भनेर विभेद नगर्न सरकारलाई आग्रह गरेका छन् । प्रदेशसभा सदस्य अमरबहादुर थापा र पदमबहादुर रोकायले सरकारले ल्याएको बजेट अपेक्षित भएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयन ध्यान दिन सुझाएका थिए ।