५ असार काठमाडौं । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्पतालले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । अस्थायी कोरोना अस्पतालमा सङ्क्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले जानकारी दिएका छन् ।
गएको जेठ २० गते पहिलो पटक पर्वतमा सङ्क्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्तासम्म खटिएका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको हो । कोरोना अस्पतालमा कार्यरत सात जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताए पनि उनीहरु अहिले क्वरेण्टीनमा नै छन् ।
स्वास्थ्यकर्मीलाई समेत सङ्क्रमण देखिएपछि जिल्लास्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।