५ असार, मेलम्ची । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता ‘डाइनोसर’ बन्ने अवस्थामा पुगेको बताए ।
सिन्धुपाल्चोकको चौतारामा आज प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा उनले अहिले मौलाइरहेको विद्युतिय सञ्चारमाध्यमका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताए ।
“अहिले युट्युब यसरी फस्टाइरहेका छन् कि जसले गर्दा छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको छ”, श्रेष्ठले भने, “पत्रकारहरुले तलब पाएनन् भनेर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण छन् ।” सोका कारण छापा माध्यमका पत्रकारले आफुले ‘अपग्रेड’ गर्न जरुरी रहेको उनले बताए।
विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लाग्दै गरेका कारण सञ्चार क्षेत्र समस्यामा परेकाले अबको पत्रकारिता रगत र पसिना बगाएर गर्नुपर्ने श्रेष्ठको तर्क थियो । साहित्यिक पत्रकारिताको कुरा गर्दै उनले जेनतेल चलिरहेको बताए ।
“साहित्यलाई कसैले चासो नदेखाउँदा जेनतेन चलिरहेको छ”, उनले भने, “काउन्सिलले साहित्यिक पत्रकारिताको वर्गीकरण गरी केहि हदसम्म सहयोग गरेका कारण अलि सहज बनेको छ ।” कार्यक्रममा प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलाले साहित्यिक पत्रकारिताको विषयमा चर्चा गर्नुरेका थिए ।
सिन्धुपाल्चोकमा साहित्यिक पत्रकारिता गरिरहेका केशवलोचन शर्मा, अमित घिमिरेलगायतले जिल्लाको साहित्यिक पत्रकारिताका बारेमा धारणा राखेका थिए । कार्यक्रममा दुःखी प्रकाशनले प्रेस काउन्सिल र काउन्सिलका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेको थियो ।