साहित्य

जीवन–आभा

                                        -प्रदीप ढकाल                                           -कविता

तिमी आयौ –
पहाड बोल्यो, जंगल सुसायो
बादल गर्जयो, झरी बर्षियो, खोला बग्यो
ताल तरंगित भयो, चराहरु चिर्विर गर्न थाले
जुनकीरीहरु चम्किन थाले,
विरुवामा पालुवा लाग्यो, फूल फुल्यो
चारैतिर सुवास फैलियो …..

तिमी आयौ –
खेतका गराहरु, बारीका कान्लाहरु
ढुंगा र चट्टानका काखहरु
जंगलका खोल्साहरुमा डुल्यौँ, घुम्यौँ
प्रकृतिको काखमा
मनका सुन्दर छायाँहरु
जीवनको रंग पोख्दै डुलिरहे …..

तिमी आयौ –
म जीवन सोच्दै–खोज्दै हिँडिरहेथेँ
तिमी स्वयम् जीवनको परिभाषा बन्यौ
समयको गर्भमा रहेको सम्बन्ध प्रस्फुटित भयो
युगौँदेखि भौँतारिइरहेको जीवन
तिम्रै आगमनमा पुलकित बन्यो ….

तिमी आयौ –
जीवन सरल र सुन्दर बन्यो
जिजीविषाले डोर्याइरह्यो
सँगै जीवनको अर्थ खोज्नुको आनन्द
कोही त छ भन्ने भावले कल्पिएर बस्नुको उमंग
मृत्युलाई पनि पार गरेर जाने आत्मविश्वास
सबै पुनःर्जागृत भए ……

तिमी गयौ –
म रहेँ मसँगै
तिमी पनि रह्यौ मसँगै
पुनःर्मिलनको आशामा
ओभाइरहेछन् आँखाहरु
पर क्षितिजमा सुर्य चम्किरहेछ
रातो आभामा जीवन मुस्काइरहेछ
तिम्रो आगमनको आशामा
जीवन प्रवाह बगिरहेछ ….