साहित्य

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम

६ असार, चौतारा । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आज दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सम्पन्न भएको छ । दुःखी प्रकाशन आयोजक र शब्द सारथी सहआयोजक रहेको सम्मेलनमा वाग्मती प्रदेशका नौ जिल्लाका कविबाट २६ कविता प्राप्त भएका थिए ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ३० हजार, २० हजार र १० हजार र प्रमाणपत्र दिइयो । दुई जनाले तीनतीन हजारको सान्त्वना पाए । दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजुको सभापतित्वमा भएको प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम, धादिङका सुमन आलोक द्वितीय र सिन्धुपाल्चोकका रोजिना पराजुली तृतीय भएका थिए । सिन्धुपाल्चोककै पवन ढुंगाना र सविता थापाले सान्त्वना प्राप्त गरेका थिए । विजयी कविलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले पुरस्कार प्रदान गरे ।

सो अवसरमा साहित्यकार तथा पत्रकार अमित घिमिरे, रेवती सापकोटा, प्रमोद न्यौपाने, दामोदर न्यौपाने, सरल सहयात्री र भारद्वाज मित्र सम्मानित हुनुभएको थियो ।