१० असार, खस्यौली, । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५४६ बराबरको बजेट आज प्रस्तुत गरेको छ । सातौँ नगरसभामा नगरपालिकाका उपप्रमुख बिना रानाले आगामी वर्षका लागि चालु खर्चतर्फ ४५ करोड ९९ लाख ७० हजार ५४६ र पूँजीगत खर्चतर्फ २४ करोड ८४ लाख सात हजार बराबरको बजेट प्रस्तुत गरे ।
गत आवको तुलनामा आगामी आवमा २० करोडले कमी आएको छ । उपप्रमुख रानाले यस वर्ष कोरोना भाइरसका कारणले बन्दाबन्दी अवधिमा राजश्व नउठ्नु र केन्द्रीय बजेट नै गत वर्षको तुलनामा कमी हुनुलगायतले बजेट घटेको स्पष्ट गरे ।
विद्यमान कोरोना भाइरसको महामारीबाट नगरवासीलाई सुरक्षित गर्नका लागि स्वास्थ्य तथा सरसफाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै रु सात करोड नौ लाख ७३ हजार ६ सय बजेट विनियोजन गरिएको छ । आगामी आवको बजेटको विशेषता कोरोना भाइरसका कारण सामाजिक तथा आर्थिक रुपमा भएको क्षतिलाई पूरा गर्न पुनरुत्थानका कायक्रम सञ्चालन गर्नु रहेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।
विनियोजन विधेयक सहित बजेट प्रश्तुत
रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आज आर्थिक वर्ष २०७७।०७८ को विनियोजन विधेयक सहित आर्थिक वर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्तिदेवी ज्ञवालीले ५५ करोड ३१ लाख ६६ हजार बराबरको बजेट प्रस्तुत गरे ।
बजेटले व्यावसायिक कृषि पेशा अवलम्बन गर्दै नागरिकलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजानेमा जोड दिएको छ ।