१४ असार, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भई विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्ने बताएका छन् ।
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज एक प्रेस वक्तव्य जारी गर्दै उनले नेपाललाई २१औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न बलियो आधार तयार पार्न आवश्यक रहेकाले पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अगाडि बढाउँदै निष्ठा र धैर्यतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
गुरुङले यतिबेला पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक, साँस्कृतिक एवं भावनात्मकरुपमा अझै एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार भएको उल्लेख गरेका छन् । विसं २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठनपश्चात् नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उनले उल्लेख गर्नुरेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपालका कम्युनिष्टले लिएको नीति, सहभागिता र संलग्नता एवं विश्व कम्युनिष्ट आन्दोलनबाट प्राप्त शिक्षाको ठोस विश्लेषण गरी नेपालको भूमिका माक्र्सवादको सिर्जनात्मक प्रयोगसहित जनताको बहुदलीय जनवादमार्फत कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइका साथ विकास गर्न जननेता भण्डारीले वैचारिक, सैद्धान्तिक र कार्यक्रम क्षेत्रबाट निरन्तर मार्गनिर्देश गरी विशिष्ट योगदान पुर्याएको उनले उल्लेख गरेका छन् ।