समाचार

पोखराका विकास आयोजना अनुगमन

१४ असार, पोखरा । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २(ख) का २५ विकास निर्माण आयोजनाको आज स्थलगत अनुगमन गरिएको छ ।

कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य विन्दुकुमार थापा, प्रभा कोइराला, कुमार खड्का र मीना गुरुङद्वारा विनियोजित कूल दुई करोडको लागतमा निर्मित आयोजनाको प्रदेशसभा सदस्य, प्राविधिक तथा सञ्चारकर्मीसमेतको उपस्थितिमा अनुगमन गरिएको हो ।

कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका वडा नं ४, ८, ९, ११, १६ र २० मा सञ्चालित सडक तथा ढल, सिँचाइ, खानेपानी, बहुउद्देश्यीय भवन, मन्दिर, चौतारा पुनःनिर्माणलगायतका योजना छन् । योजनाको अनुगमका क्रममा अनुगमन समितिका संयोजक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका आधारभूत आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै उनले तोकिएको समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिए। योजनाको प्रभावकारिताका लागि स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा उनको जोड छ । चालू आर्थिक वर्षमा सञ्चालित योजना कोरोना भाइरसका कारण प्रभावित भएको कोइरालाले बताए ।

प्रदेश निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापाले विकास निर्माणमा जनताका अपेक्षा धेरै भए पनि त्यसअनुरुप बजेट पर्याप्त हुन नसकेको बताए । अर्का सदस्य खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटबाट सञ्चालित योजनामा जनताले अपनत्व बोध गरेको बताउँदै जनतासमेतको सहभागितामा अघि बढेका योजना प्रभावकारी बनेको उल्लेख गरे।

अर्का सदस्य गुरुङले योजनाको बाँडफाँटमा सबै क्षेत्र र वर्गलाई समेटिएको बताउँदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने आवश्यकता औँल्याए । अनुगमनका क्रममा स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिलासुस्ती भएको बताउँदै पछिल्ला महिना भने कोरोनाका कारण मजदूर नपाउँदा पनि समस्या भएको गुनासो व्यक्त गरे ।