साहित्य

मन र यौवन

                         -डा सुरेन्द्र सिटौला                                      -कविता

उसलाई के थाहा
जवानी रितिन्छ भनेर
यौवनी महलमा
बुढयौली भित्रिन्छ भनेर
यस्तै हुन्छ रे सबैलाई
बेहोसीमा होस नचिनेर
हैरान छ रे मान्छे आज
मनको प्यार यौवन सँग
कसै गर्दा नछुटेर ।

इन्द्रियको महल भित्र
जवानीलाई नचाउदा
भाग्यमानी ठान्यो उसले
आफ्नै यौवन हसाउँदा
मृत्यु त्याँहा गौण हुन्थ्यो
मनले यौवन फकाउदा
यौवनको संसारमा
मृत्यु भय हराउँदा

बलको तीखो दारा धसी
निर्बलको घाँटी छेड्दा
हास्यो खुबै जवानीमा
उसको मान्छे मैले हेर्दा
जवानीको अभिमानले
बृद्ध तनको आभा फेर्दा
मनको सिंह रुन्छ आज
मृत्यु आउने बाटो हेर्दा

बिहानीको तातो यौवन
आधा दिन मै सेलाएछ
आफैं खेल्छु भन्ने मान्छे
अर्कै कसले खेलाएछ
जवानीको रबाफ छिट्टै
आफै भित्र सेलाएछ
बाँकी छदै मनको यौवन
जवानी चै हराएछ
जीवनको गह्रौ भारी
मध्यान्ह मै बिसाएछ