१७ असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । स्व छन्त्यालप्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौनधारणसमेत गरिएको थियो । बैठकले छन्त्यालको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसद रहनुभएकी स्व छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । उनी विसं २०७४ को निर्वाचनमा बाग्लुङ क्षेत्र नं ३ बाट समानुपातिक सांसद थिए । यसअघि उहाँ संविधानसभा सदस्य पनि थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते दिउँसो १ बजे पुनः बस्नेछ ।