२० असार, पोखरा । जिपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको ९७औँ जन्मजयन्तीका अवसरमा फाउण्डेशनले आज प्रेस युनियन कास्कीलाई एक कार्यक्रमबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधानसभा सदस्य शारदा पौडेल, फाउन्डेशन कास्कीका अध्यक्ष यादवराज अधिकारीले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई प्रेस ज्याकेट हस्तान्तरण गरेको हो । फाउन्डेशनबाट प्राप्त प्रेस ज्याकेट अध्यक्ष सिग्देलले सोही अवसरमा क्रियाशील पत्रकारलार्ई वितरण गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पछिल्लो समय नेकपामा देखिएको विवादका कारण नेकपाको कुनै गुटसँग मिलेर काँग्रेस सरकारमा सहभागी हुने हो कि भन्ने हल्ला चलिरहेको बताउँदै यस्तो गल्ती गर्न नहुने बताए । “अहिले नेपाली काँग्रेसलाई प्रधानमन्त्री पद दिए पनि सरकारमा सहभागी हुनु हँुदैन”, उनले भने । स्व गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको इतिहास भएको उनले बताए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले यो महामारीमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलन गर्ने पत्रकारलाई प्रेस ज्याकेट दिएर फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए । जिपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधानसभा सदस्य शारदा पौडेलले प्रेस ज्याकेटले क्रियाशील सञ्चारकर्मीलाई स्थलगत रिपोर्टिङमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, फाउण्डेशन कास्कीका अध्यक्ष यादवराज अधिकारी, गण्डकी प्रदेशका सहसंयोजक राजेन्द्रनिधि कोइराला, काँग्रेसका महासमिति सदस्य वीरेन्द्रनारायण विजुक्छे, फाउण्डेशन कास्कीका सचिव मोतिराज तिमिल्सिना, प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा लगायतले स्व गिरिजाप्रसाद कोइरालाकोृ योगदान लगायतमा चर्चा गरे।