२१ असार, डोटी । कोभिड–१९ को महामारीले जिल्लामा लामो समयदेखि विद्यालय बन्द रहे पनि स्कूल जान नपाएका विद्यार्थीले ‘शिक्षाका लागि खाद्य’ कार्यक्रमको पौष्टिक आहारयुक्त दिवाखाजा अब घरमै खान पाउने भएका छन् ।
‘शिक्षाका लागि खाद्य’ कार्यक्रम लागू भएका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीले आ–आफ्नो घरमै पौष्टिक आहार खान पाउने व्यवस्था गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालयले जनाएको छ । विश्वखाद्य कार्यक्रमको सहयोगमा ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम जिल्लामा लामो समयदेखि लागू भएको छ । पहिले प्राथमिक विद्यालयमा लागू रहेको यो कार्यक्रम हाल आधारभूत तहका सामुदायिक विद्यालयमा पनि लागू भएको र विद्यालयमा दिउँसो खाजा समयमा विद्यालयमै पौष्टिक आहार पकाएर खुवाउने गर्दै आएको थियो ।
कोरोनाका कारण विद्यालय बन्द रहेका भए पनि विद्यार्थी यसबाट बञ्चित नहोउन् भनेर उनीहरुका घरमा पौष्टिक आहार पु¥याउने व्यवस्था मिलाइएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालयका प्रमुख चेतबहादुर बमले बताए । उनका अनुसार हाललाई एक विद्यार्थी बराबर सात किलो चामल र दुई किलो दाल घरैमा उपलब्ध गराइँदै आएको छ ।
विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार उक्त पौष्टिक आहारयुक्त खाजा तयार गरिएको एकाइ प्रमुख बमको दाबी छ । यसैक्रममा आज शिखर नगरपालिका–११ अन्तर्गतका नौ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो पौष्टिक आहारयुक्त खाद्यान्न हस्तान्तरण गरिएको छ ।
सो वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर, शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी, उपप्रमुख धौलीदेवी रावल, पत्रकार लगायतको उपस्थिति रहेको थियो । जिल्लामा हाल १६८ विद्यालयमा यो कार्यक्रम लागू रहेको र ती विद्यालयमा कम्तीमा पनि २० हजार ९८० विद्यार्थी अध्ययनरत रहेका कार्यक्रम एकाइ प्रमुख बमले जानकारी दिए ।