पु.समाचार

संगठन बिग्रिएको भन्दै केन्द्रीय समितिलाई पूर्णता दिन नेविसंघको माग

२३ असार, ललितपुर । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुले नेविसङ्घ केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका छन् । नेविसंघ निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको समुहका नेताहरुले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेविसङ्घको वर्तमान केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन गरेको थियो । काँग्रेसले ढुङ्गानाको नेतृत्वमा छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले महाधिवेशन गर्नका लागि पार्टीले १५१ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जनामात्र बनाउनु दुःखद् भएको बताए । “पार्टीले छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तदर्थ समिति गठन गरे पनि पाँच महिना बितिसक्दासमेत नेविसङ्घले पूर्णता पाउन नसक्नु विडम्बना हो”, उनले भने । नेविसङ्घभित्र हाल एक अध्यक्ष, दुई उपाध्यक्ष र सात महामन्त्री मात्र रहेका छन् । अब नेविसंघ केन्द्रीय समितिको म्याद २५ दिन मात्र बाकी छ। यस्तै विद्यार्थी नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीभित्रका भ्रष्टाचार नेतालाई कारवाही गर्न माग गर्दै आन्दोलनसमेत गरेका छन् ।