समाचार

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पुनःस्थापना माग

२४ असार, रुपन्देही । सम्भावित उद्यमीलाई उद्योग व्यवसाय क्षेत्रमा प्रोत्साहन र उद्यमशील क्षमताको विकास गर्ने उद्देश्यले स्थापित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुनःस्थापना गर्न व्यवसायीले माग गरेका छन् । जिल्लाका व्यावसायिक संस्थाको सञ्जालले आज बुटवलमा पत्रकार सम्मेलन गरी सङ्घीयता लागु हुनुअघि स्थापित कार्यालय प्रदेश सरकारले अपनत्व लिनुपर्नेमा आफैँले गरेको निर्णयबाट पछि हटेर अलपत्र पार्नु चिन्ताको विषय भएको जनाएका छन् ।

सञ्जालका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रतिष्ठान बुटवलमै पुनःस्थापना गर्न माग गरे । सञ्जालका सदस्य तथा रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहराले सेवाग्राही र उद्योगीव्यवसायी सङ्घसंस्थाले कार्यालय सार्न नहुने जनाउँदै प्रदेश सरकारमार्फत नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएकामा हालसम्म कुनै निर्णय नहुनु दुःखद भएको बताए । “हामीले पटक पटक नेपाल सरकारका उद्योगमन्त्री, उद्योग सचिवलाई भेटेर समस्या अवगत गराएका थियौँ”, उनले भने, “आव २०७६।७७ मा प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको हुँदा कार्यालय व्यवस्थापन हुने र सेवा पाउनेमा हामी विश्वस्त थियौंँ तर भएन ।”

विसं २०७३ मा बुटवलमा स्थापित प्रतिष्ठान २०७५ असोज २८ मा नेपाल सरकार मन्त्रिपरिषद्ले प्रदेश नं १ विराटनगरमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । व्यवसायीको पहलमा उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयबाट गत वर्ष असारमै मन्त्रिस्तरीय निर्णय गरी सम्बन्धित प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट नै अस्थायी कर्मचारीको म्याद थप गरिदिन भनी पत्र पठाइएकामा हालसम्म उक्त निर्णय कार्यान्वयन हुन नसकेको सञ्जालले जनाएको छ ।

म्याद थप हुन नसक्दा गत वर्ष साउनदेखि कर्मचारीले तलबसमेत खान नपाएको र घरभाडा तथा प्रशासनिक खर्च स तिर्न नसक्दा समस्या भएको सञ्जालका सदस्यको गुनासो छ ।
प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले यही असार ७ गते मन्त्रिस्तरीय निर्णय गरी बुटवल कार्यालयको व्यवस्थापन सङ्घबाटैै हुन उपयुक्त हुने भनी पत्राचार गरेको भन्दै सञ्जालले निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले सेवाग्राही उद्योगीव्यवसायीले धेरै प्रयत्न गरी पुनःस्थापित गरेको कार्यालय बुटवलबाट हटाउने निर्णय मान्य नहुने बताए। सञ्जालमा रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, देवदह तिलोत्तमा र सैनामैनाका व्यावसायिक संस्था, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ आबद्ध छन् ।