बाग्मती

उपराष्ट्रपति पुनद्वारा बाह्रबिसेमा भएका भौतिक क्षतिप्रति दुःख व्यक्त

२५ असार, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढी–पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता भएकोमा उनीहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । बाढी–पहिरोका कारण विस्थापित भएकाका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले विगत केही दिनयता देशका विभिन्न भागमा बाढी–पहिरोका कारण ज्यान गुमाएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।